स्याङ्जामा स्कुटरबाट खसेर हराएको सुनका गहना फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ । पुतलीबजार नगरपालिका वडा नम्बर १ बस्ने ५३ वर्षीय लोक बहादुर थापाले सडकमा भेटाएको सुनको झोला प्रहरीलाई बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ती गहना सुरक्षित रुपमा धनी अनिता शर्मा अधिकारीलाई जिम्मा लगाएको छ ।
पुतलीबजार नगरपालिका वडा नम्बर १० राङखोलाकी ३२ वर्षीया अधिकारी वैशाख १३ गते स्कुटरमा स्याङ्जाबाट पोखरा जाँदै थिइन् । सोही क्रममा मजुवा भन्ने स्थानमा उनको गहना भएको झोला खसेको थियो । अधिकारीले झोला हराएको सूचना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा दिएकी थिइन् । लगत्तै खोजी गर्ने क्रममा थापाले सोही ठाउँमा झोला फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार सो झोलामा २ तोलाको सिक्री र १ तोलाको हार थियो । यस्तै २ थान बेरुवा औंठी, पोतेसहितको सुनको माला १ थान र १ थान चन्द्रमा पनि झोलामा सुरक्षित फेला परेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त कार्यालय प्रमुख प्रसन्न राज चौधरीले अधिकारीलाई सबै गहना हस्तान्तरण गरे ।
चौधरीले इमानदार नागरिकको परिचय दिएको भन्दै थापालाई सम्मान समेत गरे । उनले थापाले देखाएको जिम्मेवारीपूर्ण कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । इमानदारीको नेपाल प्रहरीले सदैव सम्मान गर्ने चौधरीले बताए ।






