पोखरा । पर्यटकीय शहर पोखरामा नेपाली कपडा ब्राण्ड बवाल वेयर्सको आउटलेट सञ्चालनमा आएको छ । राजधानी केन्द्रित कारोबार गर्दै आएको बवाल वेयर्सले पोखराको सभागृहमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो । कम्पनीले पर्यटकीय शहर पोखरालाई प्रमुख बजारका रुपमा लिदै शाखा विस्तार गरेको हो ।
शुक्रबारदेखि सञ्चालनमा आएको उक्त आउटलेटको कम्पनीका सञ्चालकहरु सिसन बानियाँ ,बिराट गिरी र बेनदि भारतीले संयुक्त रुपमा उद्घाटन गरे । शुक्रबारदेखि सञ्चालनमा आएको आउटलेटको डिजाइन तथा उत्पादन संग्रह पोखरेली शैली, भाषा र स्थानीय पहिचानमा केन्द्रित रहेको छ ।
पोखरेली स्ल्याङ, स्थानीय सन्दर्भ र प्रिन्ट समेटिएका कपडाहरू उपलब्ध गराइने कम्पनीका सञ्चालक बिराट गिरीले बताए । दैनिक प्रयोगका कपडादेखि समसामयिक फेसनका उत्पादनहरू समेत उपलब्ध छन् । हाल कम्पनीले प्रिन्टेड टिसर्टका साथै बवाल एसेन्सियल्स नामक उपब्रान्डमार्फत सर्ट, पाइन्ट, ट्राउजरलगायत आधारभूत परिधान उत्पादन गर्दै आएको छ । निकट भविष्यमा आफ्नै ब्रान्डको जिन्स सार्वजनिक गर्ने तयारी समेत रहेको गिरीले बताए ।
गिरीका अनुसार पोखरा ब्रान्डका लागि प्रमुख बजारमध्ये एक भएकाले यहाँ शाखा विस्तार गरिएको हो । काठमाडौंबाट पठाइने उत्पादनमध्ये पोखरा प्रमुख बजार रहेको र यहाँका ग्राहकले ब्रान्ड तथा डिजाइनलाई उत्साहपूर्वक रुचाइरहेका छन् ।
पोखरा शाखामा ४५ ( ५० लाख रुपैयाँ लगानी गरिएको छ । आउटलेट उद्घाटनको अवसरमा कम्पनीले एक सातासम्म ग्राहकलाई ५ प्रतिशत छुट दिने जनाएको छ । आगामी दिनमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम तथा विशेष छुट योजनाहरू पनि सञ्चालन गरिने छन्।
कम्पनी सञ्चालनमा आएको साढे दुई वर्ष भएको छ । आगामी दिनमा काठमाडौंमा थप आउटलेट विस्तार गर्ने तथा पूर्वी नेपालका सहरहरूमा पनि शाखा खोल्ने योजना रहेको छ । साथै विभिन्न युवाहरूलाई रोजगारी समेत दिइएको छ । हाल काठमाडौंस्थित कार्यालय र उत्पादन केन्द्रमा ७० जना कार्यरत छन् ।





