श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पोखराका दुई प्रमुख निजी अस्पतालमा श्रम ऐनको कार्यान्वयन अवस्था मूल्याङ्कन गर्न स्थलगत अनुगमन गरेको छ। विभागको टोलीले २०८३ असार १८ गते फिष्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटलमा निरीक्षण गर्दै श्रमसम्बन्धी कानुनी प्रावधानको पालना, पारिश्रमिक व्यवस्था तथा कार्यस्थल सुरक्षाको अवस्था अध्ययन गरेको हो।
अनुगमनका क्रममा दुवै अस्पतालले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेको पाइएको छ। तर, कार्यस्थल सुरक्षा नीति, श्रमिक संरक्षणसम्बन्धी व्यवस्था तथा केही कानुनी प्रक्रियाको पालनामा सुधार आवश्यक रहेको विभागले जनाएको छ।
वरिष्ठ श्रम अधिकृत चण्डिका पौडेलको नेतृत्वमा सम्पन्न अनुगमन टोलीमा कारखाना निरीक्षक ईश्वरमणि भण्डारी, नायब सुब्बा जिबाखर शर्मा तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल सहभागी थिए। टोलीले अस्पतालबाट आवश्यक कागजात संकलन गरी श्रमसम्बन्धी व्यवस्थाको विस्तृत समीक्षा गरेको जनाएको छ।
अनुगमनका क्रममा फिष्टेल हस्पिटल एन्ड रिसर्च सेन्टरले श्रम ऐनअनुसार न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेको पाइएको छ। अस्पतालले कर्मचारीलाई ग्रेड, बिदा, चाडपर्व खर्च, बीमा लगायतका श्रम ऐनले व्यवस्था गरेका सुविधाहरू उपलब्ध गराएको टोलीले जनाएको छ।
त्यसैगरी, आंशिक रूपमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको पाइएको छ। सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कर्मचारीका हकमा भने सञ्चयकोष, उपदान र बीमासम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन गरिएको अनुगमन टोलीले उल्लेख गरेको छ।
अनुगमनका क्रममा नर्सहरूको माग सम्बोधन गर्दै अस्पतालले पारिश्रमिकमा वृद्धि गरेको जानकारी पनि प्राप्त भएको छ। साथै, बोनस ऐनअनुसार कर्मचारीलाई बोनस वितरण गरिएको पाइएको टोलीले जनाएको छ।
अनुगमनका क्रममा फिष्टेल हस्पिटल एन्ड रिसर्च सेन्टरमा केही कानुनी तथा संस्थागत प्रक्रिया भने अपूर्ण रहेको पाइएको छ। अस्पतालले आफ्नो विनियमावली श्रम कार्यालयमा दर्ता नगरेको तथा कार्यस्थल सुरक्षा तथा स्वास्थ्य नीति तयार नगरी सम्बन्धित समिति गठनसमेत नगरेको निरीक्षण टोलीले जनाएको छ।
वरिष्ठ श्रम अधिकृत चण्डिका पौडेलका अनुसार अस्पतालले श्रम ऐनअनुसार विनियमावली अनिवार्य रूपमा दर्ता गर्नुका साथै कार्यस्थल सुरक्षा तथा स्वास्थ्य नीति निर्माण गरी सोसम्बन्धी समिति गठन गर्नुपर्नेछ। साथै, विभागले अस्पताललाई सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई कानुनी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ।
अनुगमनका क्रममा गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले पनि श्रम ऐनका अधिकांश आधारभूत प्रावधान कार्यान्वयन गरेको पाइएको छ। अस्पतालले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक लागू गरेको तथा कर्मचारीलाई ग्रेड, चाडपर्व खर्च, बीमा लगायत श्रम ऐनअनुसारका सुविधा उपलब्ध गराएको निरीक्षण टोलीले जनाएको छ। साथै, बोनस ऐनबमोजिम कर्मचारीलाई बोनस वितरण गरिएको पनि अध्ययनबाट पुष्टि भएको छ।
यद्यपि, अस्पतालमा केही सेवा–सुविधा तथा कानुनी व्यवस्थाको कार्यान्वयनमा सुधार आवश्यक रहेको पाइएको छ। विशेषगरी, श्रम ऐनअनुसारको सुत्केरी स्याहार बिदासम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नभएको टोलीले उल्लेख गरेको छ। अस्पतालमा कार्यरत आंशिक श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि कोषमा आबद्ध नभएका कर्मचारीका लागि सञ्चयकोष र उपदानको व्यवस्था गरिएको छ।
विभागले अनुगमनका क्रममा औंल्याइएका कमजोरीहरू समयमै सुधार गरी श्रम ऐन र व्यवसायजन्य सुरक्षा सम्बन्धी प्रावधानको पूर्ण पालना सुनिश्चित गर्न दुवै अस्पताललाई निर्देशन दिएको जनाएको छ।






