स्याङ्जाको बिरुवा गाउँपालिका ७ स्थित गहते मनकामना (सिम्ले) क्षेत्रमा मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना तथा तमु प्ये ल्हु संघ केन्द्रीय समितिको सहयोगमा सम्पन्न दुईदिने पर्यटन प्रवर्द्धनात्मक कार्यक्रममा सहभागी वक्ताहरूले मिलेनियम ट्रेकको संरक्षण, प्रवर्द्धन र दिगो विकासमा जोड दिएका छन्।
बिरुवा गाउँपालिका ७ का वडा अध्यक्ष मेखराज गुरुङ ले मिलेनियम ट्रेक स्याङ्जाको महत्वपूर्ण पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क योज तमु ले मिलेनियम ट्रेकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
समाजसेवी तथा मिलेनियम ट्रेक व्यवस्थापन समितिका निवर्तमान सल्लाहकार क्या. चौ बहादुर ल्हो तमु ले मिलेनियम ट्रेक प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो।
तमु प्ये ल्हु संघ केन्द्रीय पच्यु समितिका का.वा. अध्यक्ष ठउबा चक्ली तमु ले मिलेनियम ट्रेकको प्रवर्द्धनमा तमु प्ये ल्हु संघले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
केन्द्रीय पच्यु समितिका सचिवालय सदस्य थमन हल्गेँ तमु ले पर्यटन विकाससँगै स्थानीय संस्कृति, परम्परा र पहिचानको संरक्षणमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
तमु प्ये ल्हु संघ जिल्ला समिति, कास्कीका प्रथम उपाध्यक्ष केम ल्हो तमु ले मिलेनियम ट्रेकलाई नेपालको उत्कृष्ट पदयात्रा गन्तव्यका रूपमा विकास गर्न सरकारी निकाय, संघसंस्था र स्थानीय समुदायबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
वक्ताहरूले मिलेनियम ट्रेकको प्रभावकारी प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माण र स्थानीय समुदायको सक्रिय सहभागितामार्फत यस क्षेत्रलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरेका थिए।





