काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा पोखराका तीर्थ श्रेष्ठ नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष खडकराज पौडेल (गनेस) ले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई उक्त जिम्मेवारी दिएका हुन्। श्रेष्ठले बिहीबार मन्त्री पौडेलबाट नियुक्तिपत्र ग्रहण गरेका छन्।
पोखराको प्रसिद्ध विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमा करिब २५ वर्षसम्म सचिव तथा वरिष्ठ उपाध्यक्षका रूपमा सफल व्यवस्थापकीय भूमिका निर्वाह गरेका श्रेष्ठलाई पशुपति क्षेत्र विकास कोषको प्रशासनिक नेतृत्वको जिम्मेवारी दिइएको हो। पशुपतिनाथ क्षेत्रको व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने अपेक्षासहित उनको नियुक्ति गरिएको बताइएको छ।
श्रेष्ठ नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका संस्थापक सदस्य सचिव तथा पोखरा महानगरपालिकाका पूर्वउपमेयरसमेत हुन्। उनको नियुक्तिसँगै पशुपति क्षेत्र विकास कोषको प्रशासनिक नेतृत्वले पूर्णता पाएको छ। कोषले पशुपतिनाथ मन्दिर परिसरको व्यवस्थापन, सम्पदा संरक्षण तथा धार्मिक तथा सांस्कृतिक गतिविधिको समन्वय गर्दै आएको छ।
वि.सं. २०१६ कात्तिक १६ गते पोखराको सिंहनाथ टोलमा जन्मिएका श्रेष्ठ नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा स्थापित व्यक्तित्व हुन्। २०३६ सालको ऐतिहासिक सडक कविता आन्दोलनबाट चर्चामा आएका उनले नेपाली लेखक संघको केन्द्रीय अध्यक्ष तथा पोखरेली युवा सांस्कृतिक परिवारको तीन कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनका आमा, जिन्दगीको कुरुक्षेत्रबाट र महाभारतका गीतहरू लगायतका काव्यकृतिहरू चर्चित छन्।
विभिन्न साहित्यिक, सांस्कृतिक तथा सामाजिक योगदानका आधारमा सम्मानित श्रेष्ठले अब पशुपति क्षेत्र विकास कोषको जिम्मेवारी सम्हालेका छन्। विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रको सम्पदा संरक्षण, आर्थिक पारदर्शिता अभिवृद्धि र कोषका पदाधिकारीबीच प्रभावकारी समन्वय कायम गर्नु उनका प्रमुख कार्यभार र चुनौती हुने अपेक्षा गरिएको छ।





