गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यले विश्वभर रहेका नेपालीलाई भाषा, साहित्य र संस्कृतिमार्फत एकताबद्ध बनाउने ऐतिहासिक भूमिका निर्वाह गरेको बताउनुभएको छ।
भानु वाङ्मय प्रतिष्ठान, पोखराले आयोजना गरेको आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले भानुभक्तको साहित्यिक योगदानले नेपाली भाषालाई साझा पहिचानका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
प्रदेश प्रमुख भट्टका अनुसार संस्कृतमा सीमित रहेको रामायणलाई सरल नेपाली भाषामा रूपान्तरण गरेर भानुभक्तले साहित्यलाई जनजीवनसँग जोड्न सफल हुनुभएको हो। उहाँका कृतिले नेपाली भाषा, राष्ट्रिय एकता, सांस्कृतिक चेतना र नेपालीपनको भावनालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएको उहाँले बताउनुभयो।
भट्टले भानुभक्तका रचनामा धार्मिक पक्षसँगै नैतिकता, मानवता, सामाजिक उत्तरदायित्व, कर्तव्यबोध र लोककल्याणको सशक्त सन्देश रहेको उल्लेख गर्दै आजको पुस्ताले उहाँका कृतिलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी डिजिटल माध्यम, अनुसन्धान तथा सिर्जनात्मक अभ्यासमार्फत नयाँ पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
गण्डकी प्रदेश भाषा, साहित्य, कला र संस्कृतिको दृष्टिले समृद्ध रहेको उल्लेख गर्दै उहाँले यहाँका साहित्यिक संस्था, शैक्षिक प्रतिष्ठान तथा स्रष्टाले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर योगदान दिइरहेकोमा प्रशंसा व्यक्त गर्नुभयो।
साथै, नेपाली भाषा र साहित्यको विकासमा योगदान पुर्याउँदै उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई सम्मान गर्दै आएको भानु वाङ्मय प्रतिष्ठानको कार्यको समेत उहाँले सराहना गर्नुभयो।





