पोखरा। पोखरा युनाइटेड एकेडेमीमा कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई लक्षित गरी स्वागत तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ताज महल ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा करिब ३५० जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता विश्वास रिमालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा शिवबहादुर भण्डारी तथा विशिष्ट अतिथिका रूपमा बयानबहादुर गोदारको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका प्रमुख कार्यकारी अधिकृत (CEO) महेन्द्रबहादुर गोदार, उप–प्रधानाध्यापक देवेन्द्र अधिकारी, उप–प्रधानाध्यापक गोविन्द चापागाईं तथा +२ संयोजक सन्तोष गुरुङको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको शुभारम्भमा सभापति विश्वास रिमालले नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालय परिवारमा हार्दिक स्वागत गर्दै उनीहरूको शैक्षिक यात्रा सफल, उपलब्धिमूलक र प्रेरणादायी बन्न शुभकामना व्यक्त गर्नुभयो।
प्रमुख अतिथि शिवबहादुर भण्डारीले गुणस्तरीय शिक्षा, अनुशासन, परिश्रम र सकारात्मक सोच नै सफलताको आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति समर्पित भएर अध्ययन गर्न प्रेरित गर्नुभयो।
त्यसैगरी विद्यालयका उप–प्रधानाध्यापक देवेन्द्र अधिकारीले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र विद्यार्थीको जिम्मेवारीबारे प्रकाश पार्दै विद्यालयले प्रदान गर्ने अवसरहरूको अधिकतम सदुपयोग गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। साथै, कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै आत्मीय स्वागत गरेका थिए।
नयाँ विद्यार्थीहरूबीच आत्मीयता, सहकार्य र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।





