पोखरा । पोखरा महानगरपालिका २२ का २ सय परिवारलाई सहुलियतमा इन्डक्सन चुल्हो वितरण गरिएको छ। सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीयलाई विद्युतीय चुल्हो हस्तान्तरण गरेका हुन्।
बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि त्यसको विकल्पका रूपमा विद्युतीय चुल्हो वितरण गरिएको नगर प्रमुख आचार्यले बताए। स्वदेशमै उत्पादन हुने विद्युत्को खपत बढाउँदै खाना पकाउने ग्यासमाथिको निर्भरता कम गर्न विद्युतीय चुल्होको प्रयोग आवश्यक रहेको उनको भनाइ छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा चुल्हो वितरण गरिएको हो। कालाबाङ र भुम्दीलगायत वडाका पाँचवटा टोलका बासिन्दाले पहिलो चरणमा यो सुविधा पाएका छन्।
वडाध्यक्ष हिमलाल बरालका अनुसार वडाभित्रका करिब २ हजार परिवारलाई विद्युतीय चुल्हो उपलब्ध गराउने लक्ष्य राखिएको छ। ग्यासको चरम अभाव हुँदा नागरिकलाई खाना पकाउनसमेत समस्या पर्ने अवस्था सिर्जना भएपछि विकल्पका रूपमा सहुलियतमा इन्डक्सन चुल्हो उपलब्ध गराउने कार्यक्रम अघि बढाइएको उनले बताए।
पोखरा महानगरपालिकाले सन् २०२९ सम्म महानगरका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको पहुँच पुर्याउने लक्ष्य लिएको छ। महानगरको पञ्चवर्षीय नगर ऊर्जा योजनाअन्तर्गत उक्त कार्यक्रम अघि बढाइएको हो।
महानगरले विसं २१०० अर्थात् सन् २०४३ सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने दीर्घकालीन लक्ष्यसमेत राखेको छ। यस अभियानमा जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग (जिआइजेड), वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र युरोपियन युनियनले सहयोग गरेका छन्। विन्डपावर नेपाल र सहरी योजना आयोगले योजनाको खाका तयार पारेका हुन्।
तथ्यांकअनुसार हाल पोखरामा खाना पकाउन ८४.२५ प्रतिशत एलपी ग्यास प्रयोग हुने गरेको छ। दाउराको प्रयोग १०.२७ प्रतिशत र बायोग्यासको प्रयोग ५.२५ प्रतिशत छ भने विद्युत्को प्रयोग केवल ०.२३ प्रतिशत रहेको छ।
घरायसी स्तरमा ग्यासमाथिको निर्भरता ९८.४५ प्रतिशतसम्म रहेको छ भने व्यावसायिक क्षेत्रमा पनि ग्यासको प्रयोग उच्च छ। आयातित ग्यासमाथिको निर्भरता घटाउँदै स्वदेशी विद्युत्को उपयोग बढाउन महानगरले विद्युतीय ऊर्जामा आधारित खाना पकाउने प्रविधिलाई प्राथमिकता दिएको जनाएको छ।






