रसुवाको भोटेकोशी/त्रिशूली नदीमा आएको बाढी प्रभावितलाई न्यू लाइट मा. वि. ले ३ लाख ७१ हजार ६४८ रुपैयाँ सहयोग गरेको छ । पोखरा ३०, शिशुवामा रहेको विद्यालयले भदौ १० गतेको बाढीबाट पीडित नागरिकको राहत र उद्धारका लागि यो रकम संकलन गरेको हो । विद्यालय परिवारले विपद् व्यवस्थापनमा सघाउन यो अभियान चलाएको थियो । विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनको संयुक्त योगदानबाट रकम जुटेको विद्यालयले जनाएको छ । संकलित कुल रकममध्ये विद्यार्थीबाट ६७ हजार ६२० रुपैयाँ संकलन भयो । यस्तै, शिक्षक र कर्मचारीले १ लाख ५४ हजार २८ रुपैयाँ सहयोग गरे । विद्यालय प्रशासनका तर्फबाट १ लाख ५० हजार रुपैयाँ थपिएको छ ।
संकलित रकममध्ये २ लाख ५० हजार रुपैयाँ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्की मार्फत र १ लाख २१ हजार ६४६ रुपैयाँ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्की मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।
बाढी आएको १३ औं दिन अर्थात् भदौ २२ गते विद्यालयले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । विद्यालय प्रांगणमा आयोजित शोक सभामा मृतकको सम्मानमा १ मिनेट मौनधारण गरियो । विद्यालयले बाढीमा बेपत्ता भएकाको खोजी र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
प्राचार्य ढाकाराम कडेलले विद्यालय पठनपाठनमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वमा पनि सचेत हुनुपर्ने बताउनुभयो । विपद्का बेला मानवीय भावनाका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ छ । उहाँले विद्यार्थी, अभिभावक र कर्मचारीको संयुक्त प्रयासले एकताको सन्देश दिएको उल्लेख गर्नुभयो ।






