पोखरा । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पोखरा १२, माटेपानीस्थित हिल प्वाइन्ट सेकेन्डरी स्कुलले ३ लाख ३२ हजार ८२० रुपैयाँ सहयोग गरेको छ।
भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयले सञ्चालन गरेको अभियानबाट उक्त रकम संकलन गरिएको हो। विपद् व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय प्रशासनको संयुक्त योगदान रहेको विद्यालयले जनाएको छ।
संकलित कुल रकममध्ये विद्यार्थीबाट ६५ हजार २६० रुपैयाँ, शिक्षक तथा कर्मचारीबाट १ लाख १७ हजार ५६० रुपैयाँ र विद्यालय प्रशासनका तर्फबाट १ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको थियो।
विद्यालयका अनुसार संकलित रकममध्ये २ लाख १५ हजार ८२० रुपैयाँ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीमार्फत, १ लाख १ हजार रुपैयाँ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीमार्फत र बाँकी १६ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
यसैबीच, बाढी आएको १३औँ दिन अर्थात् भदौ २२ गते विद्यालयले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। विद्यालय परिसरमा आयोजित शोकसभामा मृतकहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो। विद्यालयले बाढीमा बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
विद्यालयका प्राचार्य दिवाकर जोइसीले विद्यालय पठनपाठनमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वप्रति पनि सचेत हुनुपर्ने बताउनुभयो। विपद्का समयमा मानवीय भावनाका साथ सहयोग र सहकार्यमा अघि बढ्नुपर्ने उहाँको भनाइ छ।
विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको संयुक्त प्रयासले सामाजिक एकता र सहकार्यको सकारात्मक सन्देश दिएको प्राचार्य जोइसीले बताउनुभयो।





