उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा भएको अंग्रेजी तथा नेपाली वक्तृत्वकला प्रतियोगितामा प्रतिवा माध्यमिक विद्यालयकी सदिक्ष्या बि.क. र ग्लोबल कलेजिएट स्कुलकी जोशिला अधिकारी प्रथम भएका छन्।
फिस्टेल माउन्टेन कलेजमा आयोजित प्रतियोगिताको अंग्रेजी वक्तृत्वकलातर्फ सदिक्ष्या बि.क. प्रथम, सबलाइम इङ्लिस सेकेन्डरी स्कुलकी सब्नम गुरुङ द्वितीय, फिस्टेल एकेडेमीका दर्शन अधिकारी तृतीय र ग्लोबल कलेजिएट स्कुलकी आर्या हमाल चौथो भएका हुन्।
त्यस्तै, नेपाली वक्तृत्वकलातर्फ ग्लोबल कलेजिएट स्कुलकी जोशिला अधिकारी प्रथम, बालोदय माध्यमिक विद्यालयकी एलिसा भुसाल द्वितीय, प्रतिवा माध्यमिक विद्यालयकी दीक्षा पौडेल तृतीय र टप्स माध्यमिक विद्यालयका शिवप्रसाद सुवेदी चौथो भएका छन्।
प्रतियोगितामा कास्कीका विभिन्न विद्यालयबाट ५० जना विद्यार्थीको सहभागिता रहेको थियो। विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्नुका साथै उनीहरूको आत्मविश्वास, अभिव्यक्ति क्षमता र नेतृत्व कौशल विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
हिसान नेपालका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराम पन्तले विद्यार्थीको व्यक्तित्व विकासका लागि वक्तृत्वकला महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले आफ्ना विचारलाई स्पष्ट, तार्किक र प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने क्षमताले विद्यार्थीको शैक्षिक तथा व्यावहारिक जीवनमा समेत सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो।

हिसान कास्कीका उपाध्यक्ष ढाकाराम कँडेलले स्वागत मन्तव्य राख्दै विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि शैक्षिक संस्थाले पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले प्रतियोगिताले विद्यार्थीलाई आफ्ना क्षमता प्रस्तुत गर्ने र नयाँ अनुभव हासिल गर्ने अवसर प्रदान गरेको उल्लेख गर्नुभयो।
कार्यक्रम संयोजक पुरन कुँवरले विद्यार्थीको अभिव्यक्ति क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। नेपाली र अंग्रेजी दुवै भाषामा विद्यार्थीलाई आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गरिएको उहाँले जानकारी दिनुभयो।
हिसान कास्कीका अध्यक्ष तथा कार्यक्रमका सभापति दिवाकर जोइसीले विद्यार्थीको समग्र विकासका लागि शिक्षासँगै सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीभित्र रहेको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने उल्लेख गर्दै आगामी दिनमा पनि विद्यार्थी केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताले विद्यार्थीलाई आफ्ना विचार र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गरेको आयोजकले जनाएको छ।





