पोखरा । लायन्स क्लब अफ पोखराको स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण महोत्सव विशेष समारोहको तयारी पूरा भएको छ । मंसिर ५ गते पोखरा इभेन्ट सेन्टरमा हुने समारोहको पूर्वसन्ध्यामा क्लबले भोलि मंसिर ४ गते शुक्रबार बृहत रक्तदान कार्यक्रम गर्दै छ ।
पोखरा इभेन्ट सेन्टरमै बिहान ८ बजेदेखि सुरु हुने रक्तदानमा सहभागी हुन क्लबले सबैमा आग्रह गरेको छ । रक्तदान जीवनदानसरह पुण्यको काम भएकाले कार्यक्रममा सहभागी भई रक्तदान गर्न संयोजक सुशील श्रेष्ठले अनुरोध गरे ।
स्वर्ण महोत्सव समारोहमा नेपालभरका ५ हजारभन्दा बढी लायनहरूको सहभागिता रहने मूल समारोह समितिका मुख्य संयोजक सुशीलकुमार गोशलीले जानकारी दिए । समारोहमा क्लबका संस्थापक सदस्य, पूर्वअध्यक्ष तथा समाजमा विशिष्ट योगदान पुर्याउने अग्रजहरूलाई सम्मान गरिने छ ।
क्लबको स्थापनादेखि हालसम्म क्लबमार्फत सेवा गर्ने सबैलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । सोही अवसरमा क्लबका संस्थापक कोषाध्यक्षसमेत रहेका सुशीलकुमार गोशलीलाई ‘लायन अफ द गोल्डेन जुब्ली अवार्ड’ बाट सम्मान गरिने भएको क्लबका पूर्व अध्यक्ष एवं डिस्ट्रिक्ट एनएलएफ चिफ दीपेन्द्र कोइरालाले जानकारी दिए ।
समारोहमा क्लबको पाँच दशक लामो सामाजिक सेवायात्रा, उपलब्धि, ऐतिहासिक अभिलेख र लेखहरू समेटिएको विशेष स्वर्ण महोत्सव स्मारिका विमोचन हुने छ ।
स्वर्ण महोत्सवकै सन्दर्भ पारेर क्लबले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा आरोग्य भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ । साथै तुलसी घाटमा शवदाहस्थल शिलान्याससमेत गरेको छ ।
स्वर्ण महोत्सव विगतको योगदान स्मरण गर्नुका साथै आगामी पुस्तालाई सामाजिक सेवाप्रति प्रेरित गर्ने अवसर भएको क्लबका अध्यक्ष डा माधव तिवारीले बताए । पाँच दशकको सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक योगदानको समीक्षा तथा अग्रजहरूको सम्मानका रूपमा समारोह आयोजना गरिएको मूल समारोह समितिका मुख्य संयोजक गोशलीको भनाइ छ ।
सन् १९७६ नोभेम्बर १० अर्थात् विसं २०३३ सालमा स्थापित लायन्स क्लब अफ पोखरा नेपालकै छैटौँ तथा तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो लायन्स क्लब हो । लायन नवराज पटेल तथा उनको टोलीको पहलमा पोखरामा क्लब स्थापनाको अभियान सुरु भएको थियो ।
प्रारम्भमा पृथ्वीनारायण क्याम्पसका तत्कालीन प्रमुख तथा शिक्षासेवी जर्ज जोनलाई संस्थापक अध्यक्षका रूपमा प्रस्ताव गरिएको थियो । तर उनी शैक्षिक तथा प्रशासनिक जिम्मेवारीमा व्यस्त रहेकाले पोखराका व्यवसायी फणिन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लबलाई अघि बढाइएको थियो ।
स्थापनाकालदेखि क्लबले शिक्षा, स्वास्थ्य, रक्तदान, वातावरण संरक्षण, छात्रवृत्ति, विपद् व्यवस्थापन, मानवीय सहायता र सामुदायिक विकासमा योगदान पुर्याउँदै आएको छ ।





