कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ ।
पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु भएको करिब तीन दशकपछि दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक स्थापना गरिएको यस स्कुलले स्वदेशमै दक्ष प्यारापाइलट उत्पादनमा योगदान गर्नेछ ।
पोखरा साहसिक पर्यटनको विश्वप्रसिद्ध गन्तव्य हो । पोखरामा प्याराग्लाइडिङ पर्यटनलाई थप व्यवस्थित र विस्तार गर्ने उद्देश्यसहित एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा रिभानस्थित मैँचेडाँडामा बिहीबारदेखि स्कुल सञ्चालनमा ल्याएको हो ।
पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु भएको लामो समय बितिसक्दा पनि दक्ष पाइलट उत्पादन गर्ने औपचारिक प्रशिक्षण स्कुल थिएन । प्याराग्लाइडिङका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीले रु एक करोड ५० लाख लगानीमा स्कुल स्थापना गरेका हुन् । प्रशिक्षण केन्द्रका लागि अझै काम बाँकी रहेकाले लगानी अझै बढ्ने बताइन्छ ।
स्कुलका सञ्चालक विजय गौतमका अनुसार रिभानस्थित मैँचेडाँडाबाट उडान भरी मर्दीखोलाको किनारमा रहेको अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । समुद्री सतहबाट एक हजार ६८० मिटरको उचाइमा रहेको मैँचेडाँडा प्याराग्लाइडिङ उडानका लागि उपयुक्त स्थान मानिएको छ ।






