पोखरा । लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवको अवसर पारेर शुक्रबार पोखरामा बृहत् रक्तदान कार्यक्रम भएको छ । शनिबार पोखरामा हुने स्वर्ण महोत्सव समारोहको पूर्वसन्ध्यामा गरिएको कार्यक्रममा ५० जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम समितिका संयोजक प्राडा बुद्धिबहादुर थापाले जानकारी दिए ।
निवर्तमान मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापालाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम संयोजक प्राडा थापाले कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा मल्टिपल काउन्सिल चेयरपर्सन थापाले ५० वर्ष अगाडि शिक्षासेवी, व्यवसायी एवं समाजसेवीहरूको अग्रसरतामा स्थापना भएको क्लबले नेपाल र विश्वकै लायनवादको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको र समाजसेवामा समेत उस्तै योगदान पुर्याएको भन्दै प्रशंसा गरिन् ।
स्वर्ण महोत्सवको अवसर पारेर विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई आरोग्य आश्रम हस्तान्तरणका साथै तुलसी घाटमा शवदाहस्थलको शिलान्यास कार्य गरेको थाहा पाएको र यसले पनि क्लबको उचाइलाई थप माथि पुर्याएको भन्दै उनले क्लबको प्रशंसा गरिन् ।
कार्यक्रममा कार्यक्रम संयोजक प्राडा थापाले स्थापनाकालदेखि नै क्लबले जहाँ जे पर्छ त्यस्तै खालका शिक्षा, स्वास्थ्य अथवा विपद्का कार्यक्रमहरू, बाढीपहिरो, भूकम्पलगायतका महामाहारीमा समेत लायन्सले सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने भन्दै नेपाल रेडक्रस सोसाइटीको प्राविधिक समूहलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा लायन्स क्लब अफ पोखराका अध्यक्ष डा माधव तिवारीले विश्वमा विज्ञानले धेरै कुराहरू आविष्कार गरे पनि रगतको विकल्प आविष्कार हुन नसकेको भन्दै एउटा एकपटक दिएको रगतले एक जनाको रगतले चार जना बिरामीलाई काम लाग्ने भन्दै यसमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।
लायन्स क्लब अफ पोखराले आफ्नो वार्षिकोत्सवको अवसर पारेर गर्न लागेको विशेष सम्मान समारोहमा प्रतिनिधिसभाका सभामुख डिपी अर्याल आउने टुंगो भएको छ । उनकै प्रमुख आतिथ्यमा शनिबार वृहत सम्मान कार्यक्रम हुने क्लबका पूर्व अध्यक्ष दीपेन्द्र कोइरालाले बताए ।






