काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा फरक समयमा गर्ने विषयमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरूसँग परामर्श गरेको छ । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०८४ साल जेठ ५ गते सकिँदैछ । प्रदेशसभा सदस्यको कार्यकाल २०८४ साल चैत ५ गते पूरा हुँदैछ । कानुनअनुसार दुवै तहको निर्वाचन कार्यकाल सकिनुभन्दा दुई महिनाअघि गर्नुपर्ने छ ।
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्तहरूले निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र तयारीबारे जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले एकैपटक निर्वाचन गर्ने सम्भावना, आर्थिक र व्यावहारिक पक्षमा छलफल भएको बताए । यी विषयमा सहमतिमा निर्णय हुनुपर्नेमा शीर्ष नेताहरूले जोड दिएको उनले जानकारी दिए ।
उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गरी सहमति खोज्ने कुरा पनि उठेको छ । आवश्यकताअनुसार संविधान वा कानुन संशोधनका लागि राजनीतिक संवाद गर्ने विषयमा छलफल भएको खरेलले बताए । विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्ने विषयमा पनि कुरा भयो । प्रविधिमैत्री निर्वाचन प्रणाली अपनाउने र बदर मत घटाउने विषयमा छलफल भएको उनले जानकारी दिए ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आयोगले दलहरूसँग संवाद गर्नु सकारात्मक भएको बताए । निर्वाचन खर्च र व्यावहारिकताका दृष्टिले एकैपटक निर्वाचन गर्ने अभ्यास छ । तर दुवै तहका जनप्रतिनिधिको कार्यकाल फरक समयमा सकिने भएकाले विशेष परिस्थिति बनेको उनले बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकैपटक निर्वाचन गर्दा पाँच वर्षे कार्यकाल पूरा गर्नुपर्नेलगायत संवैधानिक विषयमा आगामी बैठकमा छलफल गरी निष्कर्षमा पुग्ने समझदारी भएको बताए । विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आफूहरू सकारात्मक रहेको उनले बताए ।





