पोखरा । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको सुरुवातमै प्रक्रियागत विवाद चर्किएको छ । शनिबार अधिवेशनको उद्घाटनलगत्तै निर्वाचनको औपचारिक प्रक्रिया सुरु नहुँदै प्रदेश सभापतिमा मेखलाल श्रेष्ठ र महामन्त्रीमा पोषनाथ शर्मा निर्विरोध चयन भएको घोषणा गरिएपछि पार्टीभित्र असन्तुष्टि सतहमा आएको हो ।
मुख्य निर्वाचन अधिकृत वीरेन्द्र केसीले उद्घाटन सत्र सकिएलगत्तै श्रेष्ठलाई सभापति र शर्मालाई महामन्त्री पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए । तर, चुनावी कार्यतालिका र प्रक्रिया नै अघि नबढाई हतारमा निर्विरोध घोषणा गरिएको भन्दै नेताहरूले प्रश्न उठाएका छन् ।
निर्वाचन प्रक्रिया सुरु नहुँदै पद बाँडफाँट र निर्विरोध घोषणा गरिएको भन्दै कांग्रेस नेता किरण शर्माले कडा विरोध जनाएका छन् । उनले लोकतान्त्रिक अभ्यास र स्थापित निर्वाचन विधिविपरीत निर्णय गरिएको भन्दै आपत्ति प्रकट गरे ।
नेता शर्माका अनुसार मतदाता नामावली समेत प्रकाशन नभएको र निर्वाचन प्रक्रिया विधिवत् सुरु नभएको अवस्थामा निर्विरोध घोषणा गरिनु अस्वाभाविक र आपत्तिजनक छ । उनले कम्तीमा मनोनयनपत्र वितरण गरी आकांक्षीहरूको औपचारिक सूची तयार पारेर आवश्यक छलफल र प्रक्रिया पूरा गरेपछि मात्र टुङ्गो लगाइनुपर्ने तर्क अघि सारेका छन् ।
अधिवेशनका संयोजक समेत रहेका श्रेष्ठले केही साथीहरुले फरक मत राखे पनि सर्वसम्मत रुपमै कार्यसमिति चयन गरिने बताए । यसका लागि एघार वटै जिल्लाका सभापति र ४ जना केन्द्रीय सदस्य रहेको बोर्ड बनाइएको छ । यही बोर्डले आकांक्षीहरुसँग छलफल गरी नामावलीको टुंगो लगाउने छ ।
आयोजक समितिका अनुसार गण्डकी प्रदेश अधिवेशनमा एक हजार ६ सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ । अधिवेशनका लागि विभिन्न तह र क्षेत्रबाट प्रतिनिधि छनोट तथा समावेश गरिएको छ ।
विवरणअनुसार प्रदेशका ३६ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७५६ जना प्रदेश प्रतिनिधि सहभागी छन् । त्यसैगरी, १८ वटा संघीय निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ६३० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि अधिवेशनमा रहेको आयोजक समितिले जनाएको छ ।
अधिवेशनमा प्रदेश र संघीय निर्वाचन क्षेत्रका सभापति, ३६ प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति र १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति अधिवेशनमा सहभागी छन् ।
यसका अतिरिक्त गण्डकी प्रदेशका ८५ वटै पालिकाका पार्टी सभापति र सभापतिबाट मनोनीत ४० जना प्रदेश प्रतिनिधि पनि अधिवेशनमा समेटिएका छन् । विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा प्रदेशसभा सांसदहरूको समेत सहभागिता रहेको आयोजक समितिले जानकारी दिएको छ ।






