पोखरा । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
न्यूनचापीय प्रणालीको कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको मौसम यति बेला आंशिक बदली छ । तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
यता, गण्डकी प्रदेशको राजधानी शहर पोखरामा बिहानैदेखि घाम लागेको छ । पोखराको सापेक्षिक आद्रता ६० प्रतिशत रहेको छ । पोखरा चिसो घट्दै गएका कारण जनजीवन सहज बन्दै गएको छ ।
पोखरामा आज सोमबार बिहान करिब ९ बजेको तापक्रम १३ डिग्री सेल्सियस छ । आज न्यूनतम् तापक्रम ९ र अधिकतम् २१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।






