पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा लाग्ने विमानस्थल सेवा शुल्क खारेज भएको छ ।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान टिकटमा समावेश हुँदै आएको विमानस्थल सेवा शुल्क खारेज गरेको हो । यस्तो शुल्क प्रतियात्रु तीन हजार रुपैयाँ बराबर छ ।
सरकारले २०८३ भाद्रसम्मका लागि विमानस्थल सेवा शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले जानकारी दिए ।
योसँगै यी विमानस्थलबाट हुने उडानमा अब प्रतिटिकट कम्तीमा तीन हजार रुपैयाँ घट्ने छ । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु सेवा शुल्कबापत प्रतिटिकट तीन हजार बराबर शुल्क लगाउँदै आएको छ ।
यो शुल्क काठमाडौं विमानस्थलबाट विदेश उड्नेका हकमा भने यथावत छ । सरकारले नयाँ विमानस्थलमा वायुसेवा कम्पनी र यात्रु आकर्षित गर्न यस्तो निर्णय गरेको हो ।
सरकारको यो निर्णय भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि लागू हुनेछ । सरकारको यो निर्णयसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने अपेक्षा गरिएको छ ।

![राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव शुरु [तस्बिर]](https://nitipress.com/wp-content/uploads/2025/01/pcci-mela-main-photo-75x75.jpg)




