पाेखरा । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।
आज गण्डकी, कोशी र लुम्बिनी प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना छ । मधेस, बागमती र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
गण्डकी प्रदेशकाे राजधानी पाेखरामा तापक्रम क्रमशः वृद्धि हुन थालेको छ । बिहीबार बिहान यहाँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएकामा आज पनि १० डिग्री सेल्सियस कायम भएको छ । आज यहाँको अधिकतम् तापक्रम २२ डिग्री सेल्सियस रहने विभागको पूर्वानुमान छ । पाेखरामा सापेक्षित आद्रता ६४ प्रतिशत छ । पोखरामा बिहान र साँझको तुलनामा दिउँसो निकै गर्मी महसुस हुन थालेको छ ।






