पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् । लामिछानेले बैंक ग्यारेन्टीमार्फत रुपन्देही जिल्ला अदालतमा एक करोड धरौटी बुझाएका हुन् ।
आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सोही अनुसार उनी बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका हुन् ।
लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र काठामडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गरिदिएको थियो ।
कास्कीमा लामिछानेलगायतलाई पुर्पक्षमा राखेर मुद्दाको अनुसन्धान गर्नुपर्ने जिकिर गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा निवेदन दिएको छ । उच्चले लामिछानेलगायतलाई छाड्नुको कारण माग गरेको छ ।






