पोखरा । पोखरामा जारी ३३औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवमा छुट नै छुटको व्यवस्था गरिएको छ ।
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेशचन्द बास्तोलाका अनुसार १२औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलासमेत समाहित गरिएको व्यापार मेलामा रहेको नेपाल टेलिकमको स्टलबाट निःशुल्क सिमकार्ड वितरणको व्यवस्था मिलाइएको छ ।
उनका अनुसार नागरिकताको फोटोकपी तथा व्यक्तिको फोटो ल्याउनासाथ स्टलबाटै सिमकार्ड उपलब्ध हुन्छ । मेलामा राखिएका स्टलबाट ल्यापटप तथा मोवाइल खरिद गर्दा ५० प्रतिशतसम्म छुट, सिसिटिभी क्यामेरा खरिदमा जडानसहित निःशुल्क, स्मार्ट बोर्ड खरिदमा किस्ताबन्दीको सुविधा,मोवाइल एक्चचेञ्ज अफरका साथै मर्मतमा पनि ५० प्रतिशत छुटको व्यवस्था छ ।
साथै प्रत्येक दिनमो टिकटमा १० जनालाई बन्दीपुर केबलकारको टिकट तथा पाँच जनालाई मोवाइल फोन नै प्रदान गरिएको छ ।
संघका महासचिव शोभा गौतमका अनुसार अलोकनकर्ताका लागि टिकटक बनाउने प्रतियोगितासमेत मेलाअन्तर्गत नै आयोजना गरिएको छ ।
टिकटक बनाउने प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रोले १० र तेस्रो हुनेले पाँच हजार बराबरको उपहार प्राप्त गर्ने उनले जानकारी दिइन् । भ्यूअर्सको आधारमा विजेता छनोट गरिने छ ।
आइटी महोत्सवअन्तर्गत सूचना प्रविधिसम्बन्धी विभिन्न परियोजना,नयाँ प्रविधि तथा रोबोट, विद्यार्थीले दृष्टिविहीनका लागि उपयोगी हुने सेन्सरसहितको छडी र विद्युतीय गाडीजस्ता प्रदर्शनीले पनि मेलाको रौनकता थपेको प्रचारप्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जानकारी दिए । आइटी मेलाअन्तर्गत नै वैदेशिक पलायन रोक्नको लागि परामर्शको व्यवस्थासमेत मिलाइएको उनले बताए ।
मेलामा आइतबार वरिष्ठ लोकगायक प्रजापति पराजुलीसहित इन्द्रा गुरुङ, कमला सुनार, शिवहरि ढुंगाना, राजन कार्कीलगायतको प्रस्तुति रहेको थियो भने सोमबार चर्चित कलाकार जीवन दाहाल, शंकर विरही गुरुङ, सुनिता नेपाली, कृष्णा गुरुङलगायतको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए ।






