पोखरा । पोखरामा ‘व्याक टू नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रम यही माघ २६ गते शनिबार साँझ ५ देखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र हुनेछ ।
कार्यक्रममा ९० को दशकमा उदाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल सात वटा व्याण्डले प्रस्तुति दिने गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव एवं कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा कन्दरा (विवेक श्रेष्ठ), डि-मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाइ गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ)को प्रस्तुति रहने उनले बताए ।
पोखराको विरासत फर्काउने गरी कार्यक्रम गर्न लागिएको पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाइ) ले बताए ।
‘कुनैबेला पोखरा व्याण्डको राजधानी थियो, ९० को दशकमा पोखराका व्याण्डले देश, विदेशमा आफ्नो कला र संगीतमार्फत ध्यान तानेको थियो’, उनले भने, ‘समय अन्तरालमा आआफ्नो व्यस्तता र बाध्यताका कारण यो पहिचान बिस्तारै सुस्ताउँदै गयो, तर फेरी एकपटक जुर्मुराउने बेला आएको अनुभूति भएपछि त्यहि विरासत फर्काउनका लागि यो कार्यक्रम गर्न लागेका हौँ ।’
उनले संगीतमार्फत विश्वको ध्यान फेरी एकपटक पोखरामा तान्न कार्यक्रम कोशेढुंगा सावित हुने उनको विश्वास छ ।
सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई संगीतमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिँदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए ।
‘कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु हो’, उनले भने, ‘पोखरालाई रिब्राण्डिङ गर्ने, गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुर्व्यसनबाट जोगिन युवालाई संगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नु पनि कार्यक्रमको उद्देश्य हो ।’
कार्यक्रममा सहभागीले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्ने संघका निवर्तमान अध्यक्ष सुनिल थापाले बताए ।
उनले भने, ‘जसले परिवारसँगको माया थप प्रगाढ बनाउन तथा आफ्नो सन्ततीलाई त्यो समयबारे भन्ने अवसर सिर्जना गर्नेछ ।’
कार्यक्रमका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठको संयोजकत्वमा पाँच सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । कार्यक्रमको प्रचारप्रसार संयोजकमा सन्देश श्रेष्ठ छन् ।






