पाेखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकाे प्रभावले आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो कोशी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ।
साथै आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको संभावना छ।
गण्डकी प्रदेशकाे राजधानी पाेखरामा माैसम अझै सफा हुन सकेकाे छैन । तर दिन भने घमाइलाे हुने बताइन्छ । लामाे समय वर्षा नहुँदा पाेखराकाे माैसम सफा हुन नसकेकाे हाे । पाेखरामा आज बिहान करिब ७ बजेकाे तापक्रम १० डिग्री सेल्सियस छ ।
आज अधिकतम् तापक्रम २३ र न्यूनतम् तापक्रम ७ डिग्री हुने अनुमान गरिएकाे भने सापेक्षित आद्रता ५६ प्रतिशत रहेकाे छ ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।






