पोखरा । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउँदैछन । नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो महानगर सम्मेलन उद्घाटन गर्न सभापति देउवा पोखरा आउने भएका हुन् ।
कार्यक्रम आज दिउँसो १२ः४५ बजे पोखरा सभागृहमा हुने र सबै तयारी पूरा भएको पार्टी सचिव टुवराज बस्तोलाले जानकारी दिए ।
सम्मेलनमा पार्टीका सबै तहका नेता कार्यकर्ता सहभागी हुने प्रवक्ता धनन्जय पौडेलले जानकारी दिए ।
सभापति देउवाले सोमबार नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्नेछन् ।
कार्यक्रम बिहान १०ः३० बजे लेकसाइडस्थित होटल निवासमा हुनेछ । सो कार्यक्रममा पार्टीका सबै तहका नेता कार्यकर्ता सहभागी हुने र तयारी पूरा भएको कांग्रेस युवा नेता अजित क्षेत्रीले जानकारी दिए ।
यस्तै नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते कार्यक्रम हुने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा समेत सभापति देउवा सहभागी हुँदैछन् ।
देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेतासमेत सहभागी हुने बताइको छ ।
कार्यक्रममा ७७ वटै जिल्लाका सभापति र जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका उपसभापति सहभागी हुने कास्की कांग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
कार्यक्रमको व्यवस्थापनलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको जिल्ला सभापति किशोरदत्त बरालको जानकारी दिए ।
कार्यक्रमले सबै जिल्ला सभापतिका अनुभव आदानप्रदान गरी संगठन सुदृढिकरण र पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने सभापति बराललेको विश्वास छ ।
‘कार्यक्रम पोखरामा हुनु हाम्रा लागि गौरवको विषय हो’, सभापति बरालले भने, ‘यो कार्यक्रमले देशको ध्यान पोखरामा तान्नेछ ।’
पोखरामा तय भएका कार्यक्रम अनुसार सभापति देउवा कम्तीमा चार दिन पोखरामा रहनेछन् । यही बीचमा कास्कीसहित गण्डकीका नेता कार्यकर्ता तथा देशभरका जिल्ला सभापतिसँग उनले भेटघाट गर्नेछन् ।






