पोखरा । पोखरा महानगरपालिका वडा नं २६ विजयपुरमा मुस्ताङको दिव्यदीप माविको घुम्ती छात्रावास भवन शुभारम्भ गरिएको छ । वसन्तपञ्चमीको अवसर पारेर सोमबार संघीय सांसद योगेश गौचन थकालीले उक्त भवन शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा सांसद थकालीले गुणस्तरीय शिक्षाका लागि विद्यालयले र विद्यार्थीलाई अनुशासित बनाउन अभिभावकले ध्यान दिनुपर्नेमा जोड दिए ।
आधुनिक प्रविधिसँग विद्यार्थीलाई परिचित गराउनुपर्नेमा जोड दिँदै उनले विद्यालयका लागि आवश्यक पर्ने सहयोगका लागि पहल गर्न आफू तयार रहेको बताए ।
गण्डकी प्रदेशसभा सदस्यद्वय नम्डु गुरुङ र विकल शेरचनले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्न आफू सधैँ तयार रहेको प्रतिवद्धता जनाए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवर्णकुमार विष्टको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी पासाङ वाङ्मो गुरुङ र प्रधानाध्यापक कमलेश कुमार त्रिपाठीले स्वागत तथा कार्यक्रम सञ्चालन शिक्षक त्रिलोचन सापकोटाले गरेका थिए ।
कार्यक्रममा भवन निर्माणका लागि सहयोग पुर्याउने समाजसेवी, चन्दादाता, निर्माण व्यावसायी, लोमन्थाङ गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र पूर्व प्रधानाध्यापकद्वय रामुप्रसाद श्रेष्ठ र भोजराज तिवारीलाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्टका अनुसार नेपाल सरकारको संघीय विशेष अनुदान र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको संयुक्त अनुदानमा चार करोड १९ लाखको लागतमा उक्त भवन निर्माण भएको हो ।
चार तले अत्याधुनिक सुविधासम्पन्न भवनमा २३ कोठा छन् । भवन २०८० असार २० मा भएको ठेक्का सम्झौता भई २०८१ असार १९ मा निर्माण सम्पन्न भएको हो ।
भवन निर्माण सम्पन्न भएलगत्तै आवश्यक फर्निचर, पर्दा, कार्पेट र अन्य सामग्री लोमन्थाङ गाउँपालिकाको बजेटबाट उपल्ब्ध गराइएको प्रधानाध्यापक त्रिपाठीले जानकारी दिए ।
विद्यालयले यसअघि पोखराको लामाचौर, रानीपौवा, मियाँपाटन र विजयपुरमा घर भाडामा लिएर छात्रावास सञ्चालन गर्दै आएको थियो ।
दिव्यदीप उपल्लो मुस्ताङको एकमात्र माध्यमिक विद्यालय हो । लोमन्थाङ गाउँपालिका वडा नं २ छाेसेरमा २०२७ सालमा स्थापित विद्यालयमा हाल ५३ जना विद्यार्थी अध्ययनरत छन् । यस वर्ष विद्यालयबाट आठ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा सञ्चालित सरकारी विद्यालय हिउँदमा अत्यधिक चिसो हुने भएकाले बन्द गर्नुपर्ने बाध्यता थियो । २०६५ सालदेखि चिसोको समयमा पोखरा झेरेर अध्ययन अध्यापन गराउने व्यवस्था सरकारले नै गरेको हो ।
तस्बिर










