पोखरा । पोखराको प्रमुख पर्यटकीय गन्तव्य सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव हुने भएको छ । कार्यक्रम आगामी फागुन १४ देखि २१ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।
धार्मिक पर्यटन क्षेत्रको रूपमा परिचित सराङकोटलाई धामका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको मूल आयोजक समिति अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए ।
उनका अनुसार सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको अगुवाइमा ५१ फिट अग्लो पञ्चमुखी गणेश, विशाल शिव मन्दिर, भ्यू टावर, १०८ शिव लिङ्ग, १०८ धारा, भूमे कालिका, गणेश मन्दिर, बहुउद्देश्यीय भवनसमेतको शिवरात्रिका दिन उद्घाटन गरिने छ । सूर्योदय र सूर्यास्त हेर्न आउने पर्यटकलाई सराङकोटमै भुलाउन नयाँ संरचना निर्माण शुरु गरिएको उनले जानकारी दिए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले धार्मिक आस्थासँगै पर्यटकलाई सराङकोटको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वको अवलोकन गराउने उद्देश्यले त्यस क्षेत्रलाई एक पवित्र धामका रूपमा विकास गर्न लागिएको बताए ।
पर्यटनको राजधानी पोखरा सबै हिसाबले पर्यटन मैत्री बन्दै सोही अनुरूपका पूर्वाधारसमेत निर्माणमा जोड दिइएको उनले बताए ।
पूरानो ऐतिहासिक कोटमा आजसम्मको चरणलाई उद्घाटन गरिने र पछि गुरुयोजना अनुसार काम गरिने मेयर आचार्यले स्पष्ट पारे । यसका लागि पोखरा महानगरपालिकाको सस्टनेवल टुरिजमअन्तर्गत एडीबीको परियोजनामा पनि सराङकोट परेको र त्यसमा करिब छ करोड बजेट रहेको उनले जानकारी दिए ।
अब २१ करोड जतिको काम बाँकी रहेको भन्दै मेयर आचार्यले एउटा चरणको काम सकिएपछि अर्को नयाँ चरणको शुरु हुने बताए । संरचना निर्माणसँगै सबै जानकारी पाउने गरी नेपाली, हिन्दी र अंग्रेजी भाषामा पढ्न मिल्ने गरी क्यूआरसहितको स्टोरी निर्माण गरिने उनले स्पष्ट पारे ।
महाशिवरात्रि जस्तो पवित्र दिनदेखि आरम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीको ध्यान तान्नेमात्र होइन, महादेवप्रति भक्तिभाव व्यक्त गर्ने एउटा अनुपम अवसर पनि प्रदान गर्ने उनको विश्वास छ ।
महायज्ञका प्रमुख वाचक पण्डित कमलनयन गौतमले लामो समयको निरन्तर प्रयासले धाम अहिलेको अवस्थामा आइपुगेको बताए । यसमा आफूले १९ वर्ष खर्च गरेको उनले स्पष्ट पारे । सराङकोट धाम आजको अवस्थामा आइपुग्न धेरैको योगदान रहेको उनले बताए । साधना भूमिलाई साधना भूमिकै रुपमा अघि बढाउने गरी १९ वर्षदेखि काम गर्दै यो अवस्थामा ल्याउन सफल भएको गौतमको भनाइ छ ।
उनले भारतको मुम्बई शहरलाई सराङकोटसँग जोडेर अघि बढाउने योजना रहेको उनले सुनाए । उनले भने, ‘भगवान शिव र गणपतिका हजारौँ भक्तहरु भारतबाट नेपाल आउनेछन्, उनीहरुलाई सराङकोट पनि ल्याउन सकिए राम्रो हुन्छ भन्ने हाम्रो उद्देश्य छ ।’

सराङकोटलाई सिँगार्ने र अस्तित्व जोगाउने कार्य गरिएको भन्दै उनले आशन्न महायज्ञमा सहभागी हुन र पवित्र धाम अवलोकन गर्न आग्रह गरे । यस अवसरमा भागवत ज्ञानको गहिरो अर्थ र शिक्षालाई समाजमा प्रवाह गर्दै धार्मिक एकता र शान्तिको सन्देश फैलाउने अपेक्षा रहेको उनले बताए ।
पोखरा-१८ का वडाध्यक्ष शिव तिमिल्सिनाले सराङकोटको विकासले पोखराको मुहार फेरिने दावी गरे । पोखराको पूर्णरुप हेर्न सराङकोट आउनुपर्ने भन्दै उनले सराङकोटस्थित भैरव, भूमीकालिका, चण्डी मन्दिर निर्माण गरिरहेको बताए ।
भगवान शिवको पूर्णकदको मूर्तिसहित मन्दिर निर्माण गरिएको र अन्नपूर्ण केवलकार प्रालिको ११ करोड ७५ लाखको सहयोगमा पञ्चमुखी भगवान गणेशको मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।
कार्यक्रममा महिला परिचालन समिति संयोजक कल्पना ढकालले महायज्ञको तयारी तीव्र रुपमा अधि बढाइएको बताइन् । उनले वडाभित्रका महिला समूह, टोल विकास संस्थाका साथै पाेखराका ३३ वटै वडामा पत्राचार गरिएको बताइन् ।
महायज्ञ प्रचारप्रसार समिति संयोजक कृष्ण थापाले गुरुयोजना अनुसारका काम सम्पन्न गर्न करिब ३५ करोड रुपैयाँ खर्च हुने जानकारी दिए । हालसम्म करिब २१ करोड ७५ लाखको काम सकिएको उनले बताए ।
महायज्ञ अवधिभर सराङकोट आउजाउ गर्ने भक्तजनका लागि बागलुङ बसपार्कबाट निःशुल्क बसको व्यवस्था तथा केवलकारमा आउजाउ गर्न चाहनेलाई दुई सय रुपैयाँमा शुल्क तोकिएको उनले जानकारी दिए । केवलकारमा आउजाउ गर्नेका लागि दुई सय रुपैयाँ लिएर पास उपलव्ध गराईने भएको छ ।






