पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माविमा फुड फेस्टिभल, चित्रकला प्रदर्शन र पुरस्कार वितरण कार्यक्रम हुने भएको छ ।
यही माघ २८ गते सोमबारका दिन फुट फेस्टिभल तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको विद्यालयका सहायक प्राचार्य गंगाराम पौडेलले जानकारी दिए ।
कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको आयोजनामा फुट फेष्टिभल आयोजना गरिएको उनले बताए । फेस्टिभलमा १५ प्रकारका खानाका परिकार प्रस्तुत र फाइन आर्टका विद्यार्थीले चित्रकला प्रदर्शन गर्ने तयारी भइरहेको छ ।
उक्त अवसरमा विद्यार्थीले विभिन्न सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा गत वर्षको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थी, विद्यालयको विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थी, हिसान र प्याव्सनद्वारा आयोजित कार्यक्रममा विजेतालाई सम्मान र पुरस्कृत गरिने प्राचार्य दिवाकर जैशीले जानकारी दिए ।

प्राचार्य जैशीका अनुसार केहीअघि प्याव्सन कास्कीको निम्न माध्यमिक विद्यालय स्तरीय अंग्रेजी स्पेलिङ कन्टेस्टमा विद्यालयले प्रथम स्थान हासिल गरेको थियो ।
यसैगरी हिसान कास्कीले आयोजना गरेको अंग्रेजी वक्तृत्वकलामा हिलप्वाइन्ट स्कुलले को कक्षा १२ मा अध्ययनरत रिशिका बसेलले द्वितीय स्थान हासिल गरेकी थिइन् ।
विद्यालयले केही दिनअघि मात्रै अभिभावकका लागि ‘माइ सेकेण्ड टिचर एप’ सार्वजनिक तथा दन्तशिविर आयोजना गरेको थियो ।
२०३८ सालमा स्थापित विद्यालयमा हाल आठ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र फाइन आर्टको पढाई हुँदै आएको छ ।







