पोखरा । ग्यास उद्योगीले १५ दिनका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग सहमति भएसँगै ग्यास उद्योगीले आफ्ना घोषित आन्दोलनका कार्यक्रम १५ दिनका लागि स्थगित गरेका हुन् ।
बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायीबिच छलफल भएको थियो । छलफलमा व्यवसायीका जायज माग १५ दिनभित्र पूरा गर्ने सहमति भएको बताइएको छ ।
बैठकमा उद्योगमन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारी, निगमका कर्मचारी र नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारी रहेका थिए । छलफलमा संघका मागका सम्बन्धमा सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ ।
‘छलफलका क्रममा नेपाल आयल निगमसमक्ष संघले पेस गरेका मागलाई सकारात्मक रूपमा लिई समाधानका लागि गृहकार्य गर्न थप समय आवश्यक देखिएको हुँदा संघले आजका मितिदेखि घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम १५ दिनका लागि स्थगन गर्ने निर्णय गरियो,’ सचिवालयले भनेको छ ।
ग्यास उद्योगी विभिन्न १९ बुँदे माग राख्दै बुधबारदेखि चरणबद्ध आन्दोलनमा थिए । फागुन २२ गतेदेखि ग्यास बिक्री बन्द गर्ने उनीहरुले घोषणा गरेका थिए । उद्योगीले आन्दोलन शुरु गरेसँगै बजारमा ग्यासको अभाव हुन थालेको थियो । उद्योगीले यसअघि सरकारलाई ज्ञापनपत्र बुझाएर समस्या समाधानका लागि आग्रह गरेको थियो ।
उद्योगीका मागलाई सरकारले बेवास्ता गरेपछि आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । आन्दोलन शुरु भएसँगै सरकार वार्तामा बस्न तयार भएको थियो ।





