पोखरा । जुम्लामा आजै पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आजै दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो ।
पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४दशमलव१ म्याग्निच्युड रहेको थियो ।
यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्ला नै केन्द्रविन्दु भएर भूकम्प गएको थियो । उर्थु चौतारा केन्द्रविन्दु रहेको सो भूकम्पको तीव्रता ३दशमलव८ म्याग्निच्युडको थियो ।
भूकम्पको धक्का जुम्लाका छिमेकी जिल्लामा समेत महसूस भएको बताइन्छ ।
यसअघि गत माघ २२ गते दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
नेपालमा पछिल्लो समय भूकम्प जानेक्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।






