पोखरा । पोखरामा आज छिटपुट वर्षा भएको छ । पोखरा-१६ लामाचौर र त्यस आसपासमा हल्का वर्षा भएको स्थानीयले बताएका छन् ।
लामो समयपछि वर्षा हुँदा विशेषगरि किसान खुशी भएका छन् ।
‘दिउँसो ४ बजेदेखि छिटपुट वर्षा भइरहेको छ, एकसरो कपडा भिजाउने गरी वर्षा भएको हो, वर्षा अहिले पनि भइरहेको छ’, स्थानीय व्यवसायी लक्ष्मी पगेनीले भनिन् ।
मंगलबार पनि लामाचौर, पुरुन्चौर, लाहाचोकसहित माछापुच्छ्रे गाउँपालिकाका केही भूभागमा वर्षा भएको थियो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि आज देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको र जसका कारणले पोखरामा छिटपुट वर्षा हुनसक्ने जनाएको थियो ।
आज गण्डकी, कोशी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज पोखराको सापेक्षित आद्रता ५० प्रतिशत र वर्षाको सम्भावना ६४ प्रतिशत रहेको विभागले जनाएको छ ।






