पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा नियमित रूपमा सञ्चालन हुँदै आएको काव्य वाचन कार्यक्रम ‘समता काव्य सन्ध्या’को ३७८औं शृंखला शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले पोखरेली युवा सांस्कृतिक परिवारले तीन दशकदेखि निरन्तर सञ्चालन गरिरहेको यस काव्य सन्ध्याले धेरै साहित्यकार जन्माएको बताए ।
उनले पोखरा जैविक, सांस्कृतिक र प्राकृतिक विविधता भएको सुन्दर भूभाग भएकाले कविहरूले यी विविधतालाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा चिन्तन गर्दै लेखनलाई अघि बढाउनुपर्ने सुझाव दिए ।
उनले हाल विश्वभर पर्याकविता लेखनको प्रवृत्ति बढिरहेको उल्लेख गर्दै नेपाली साहित्यमा पनि यस दिशामा गम्भीर रूपमा अघि बढ्न आवश्यक रहेको बताए।
कार्यक्रममा परिवारका सल्लाहकार डा. ईश्वरमणि अधिकारी, छवि सुवेदी, लक्ष्मी थापा, कोशलचन्द्र जिसी, ढाकामोहन बराल, गीता तिवारी, पुछारघरे, हेमन्त हितैषी, एकदत्त लम्साल, भरतराज कोइराला, दीपक अधिकारी, सुबिका घिमिरेलगायतले आआफ्ना कविता वाचन गरेका थिए ।
संस्थाका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा विभागीय प्रमुख केशु शर्माले स्वागत र सञ्चालन संस्थाका सदस्य शिव त्रिपाठीले गरेका थिए ।






