पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले गाँजा र एक नाले भरुवा बन्दुकसहित शनिबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ७ का ७२ वर्षीय आइतसिंह गुरुङ छन् ।
गाँजासहित पक्राउ परेका आइतसिंहले वन्यजन्तुको शिकार गर्न भरुवा बन्दुक प्रयोग गर्ने गरेका थिए ।
वन्यजन्तुको शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा गरिएको खानतलासीबाट एकनाले भरुवा बन्दुक, बारुद जस्तो देखिने कालो पदार्थ तीन सय ५० ग्राम र डेढ किलो गाँजासहित गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी, प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए ।
प्रहरी निरीक्षक जिसीका अनुसार वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले गुरुङको घरकोठा खानतलासी गर्दा गाँजा र बन्दुक फेला पारेको हो ।
गुरुङविरुद्ध हातहतियार तथा खरखजना र लागुऔषधसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।





