पोखरा । पोखरामा तेस्रो प्रदेश स्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा गुरुकुल विद्या सदनले विजयी शुरुआत गरेको छ ।
गुरुकुल विद्या सदनले जुनियर सिटिजन एकेडेमी लेखनाथलाई १-० गोलले हराएको हो । गुरुकुल कास्की च्याम्पियन पनि हो ।
दोस्रो खेलमा डाइमन्ड सेकेन्डरी स्कुलले पोखरा युनाइटेड एकेडेमीलाई ट्राइब्रेकरमा ३-२ गोलले हरायो । निर्धारित समयमा दुई-दुई गोलको बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
तेस्रो खेलमा सूर्योदय इङ्लिस बोर्डिङ स्कुल तनहुँले ग्लोबल कलेजियटलाई फराकिलो अन्तरले हरायो । सूर्योदयले ग्लोबललाई ८-२ गोल अन्तरले हराएको हो ।
चौथो खेलमा अरनिको स्कुल तनहुँले मदरल्याण्ड माविलाई ४-३ गोल अन्तरले हरायो ।
पाँचौँ खेलमा चिल्ड्रेन लाइफ इङ्लिस स्कुल बाग्लुङले त्रिबेणी पब्लिक स्कुल लेखनाथलाई २-१ गोलले हरायो ।
छैर्टौँ खेलमा कास्की मोर्डनाइज्डले फ्युचर बोर्डिङ स्कुल बागलुङलाई ५-१ गोलको फराकीलो अन्तरले हरायो ।
यता, कलेजतर्फको फुटसलमा सोच कलेज अफ आइटीले गेन्स कलेजलाई ९-० गोलको फराकिलो अन्तरले हराएको थियो ।
प्रतियोगितामा १४ विद्यालय र नौ क्याम्पसले सहभागिता छ । प्रतियोगिता विजेताले एक लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजक हिसान गण्डकीका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए ।
प्रतियोगितामा दोस्रो हुने टोलीले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । शर्माका अनुसार कलेजतर्फको विजेताले नगद २० हजार र दोस्रो हुने टिमले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ ।
प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ ।
प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।






