पोखरा । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
गण्डकीसहित कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
साथै बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भूभागका केही स्थानमा हुस्सु-कुहिरो लागेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बुलेटिनमा उल्लेख छ ।
साथै गण्डकी, कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना बुलेटिनमा उल्लेख छ ।
आज बिहानीपख तराईका थोरै भूभागमा हुस्सु-कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा आज तापक्रम घटेर चिसो बढेको छ । पाेखराकाे तापक्रम आइतबार बिहान १४, साेमबार बिहान १२ डिग्री सेल्सियस रहेकामा आज बिहान ८ बजे १३ डिग्री सेल्सियस छ । पाेखरामा साेमबार दिउँसाे छिटपुट वर्षासमेत भएकाे थियाे ।
पोखरामा आज अधिकतम् तापक्रम २२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । पोखराको सापेक्षित आद्रता ७३ प्रतिशत रहेको छ भने आज पनि पोखराको आकाशमा आंशिक बादल लाग्ने बताइन्छ ।





