पोखरा । नेपाली कांग्रेसका पूर्व सभापति, नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका निवर्तमान सभापति नेपाली कांग्रेसका नेता, लीलाभक्त आचार्यको निधनप्रति नेपाली कांग्रेस कास्कीले दुःख व्यक्त गरेको छ ।
कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले विज्ञप्ति जारी आचार्यको निधनमा दुःख व्यक्त गरेका हुन् । आचार्यको शनिबार पोखरा महानगर पालिका वडा नं १७ स्थित आफ्नै निवासमा भएको निधन भएको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र सेनानी आचार्य जी राजनैतिक, सामाजिक र धार्मिक व्यक्तित्व हुनुहुन्थ्यो, उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ, उहाँले आफ्नो जीवनभर, लोकतन्त्र, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणका लागि महत्वपूर्ण योगदान दिनुभएको छ, समाज सेवा र राजनीतिमा उहाँको नेतृत्व त्याग र ईमान्दारिता अनुकरणीय छ, समाज सेवा र राजनीतिक चेतनाको विकासमा उहाँको भूमिका सधैं स्मरणीय रहनेछ ।’
आचार्यको निधनबाट नेपाली कांग्रेस कास्कीको संगठनमा गम्भीर क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।
‘उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछौँ, दिवंगत आत्माको चीरशान्तिको कामनासहित शोक सन्तप्त उहाँका पाँच छोरा, पाँच छोरी तथा नातिनातिनीसहित सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’






