पोखरा । कास्कीको घम्पुसमा जारी तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन पाँच खेल सम्पन्न भएको छ ।
बिहीबार भएको महिला भलिबलतर्फको पहिलो सेमिफाइनल खेलमा आयोजक माछापुच्छ्रेलाई पछि पार्दै बागलुङले फाइनलको यात्रा तय गरेको छ ।
दोस्रो सेमिफाइनल खेलमा हिमशिखर युवा क्लब घम्पुस र शान्त भलिबल ट्रेनिङ सेन्टर बिच भएको खेलमा शान्ता भलिबल ट्रेनिङले हिमशिखरलाई पराजित गरेको छ । महिला भलिबलको फाइनल खेलमा बागलुङ र शान्त भलिबल ट्रेनिङ सेन्टरले उपाधिका लागि भिड्ने भएका छन् ।
यता पुरुषतर्फ मादी गाउँपालिका र निसीखोला बीच हुने भनिएको खेलमा मादी गाउँपालिका उपस्थित हुन नसकेपछि निसीखोला विजयी भएको छ ।
स्याङ्जा हरिनास र माछापुच्छ्रे« गाउँपालिका बीच भएको खेलमा पहिलो र अन्तिम दुई सेटले पछि पार्दै हरिनासले सुखद् यात्रा तय गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी बरालले जित हार भन्दा पनि खेल मैदानमा प्रवेश गर्नु नै खेलाडीको विजय सुरुवात भएको बताए । विभिन्न जिल्लाबाट सहभागी खेलाडीलाई पर्यटकीय क्षेत्र घम्पुसको सम्झना सबै माँझ प्रवाह गरिदिन उनले आग्रह गरे ।
माछापुच्छ्रे गाउँपालिका वडा नं ७ धम्पुसको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गतेसम्म प्रतियोगिता चल्नेछ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई दुई लाख, द्वितीयलाई एक लाख र सेमिफाइनल पुगेका दुई टिमलाई ५०÷५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
यस्तै, महिलातर्फ प्रथम हुनेलाई एक लाख, द्वितीय हुनेलाई ५० हजार र सेमिफाइनल पुगेका दुई टिमलाई २५÷२५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक पुरुस्कार प्रदान गरिने छ ।






