पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीका अध्यक्ष दिवाकर जैशीले समाजमा जति आमाको भूमिका आफ्नो सन्तानलाई हुर्काउन महत्वपूर्ण हुन्छ, त्यति नै भूमिका बुबाको पनि हुने बताएका छन् । पोखरामा जारी १२औं एनसेल फाउन्डेसन लिट्रेचर फेस्टिभलको ‘घरः पहिलो विश्वविद्यालय’ शीर्षकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
तर आमाको जति बाबाको महत्वका विषयमा कुराकानी नहुने भन्दै उनले हरेक सन्तानको हुर्काइका लागि आमा र बाबा दुवैले समय दिनु आवश्यक रहेको स्पष्ट पारे । उनले भने, ‘उनीहरुको अगाडि जति नै चुनौतीका चाङ आए पनि साथमा आमाबाबा छन् भन्ने एहेसास दिलाउनु आवश्यक छ ।’
उनले थपे, ‘एउटा बच्चालाई आमाले जन्म दिएपछि उसलाई सही बाटोमा हिँडाउन बुबाको पनि जिम्मेवारी हुन्छ, नभए उनीहरु गलत बाटोमा जान सक्छन् ।’
अहिले पनि प्रायः विद्यालयमा बालबालिकालाई औपचारिक शिक्षामा बढी ध्यान दिने गरिएको भन्ने कुरामा उनले फरक बुझाई प्रस्तुत गरे । उनले भने, ‘विद्यालयमा शिक्षा प्रदान गरिरहँदा औपचारिक शिक्षामा बढी ध्यान दिनु शिक्षकको बाध्यता हो, किनकि त्यहाँ हरेक कक्षामा भएका पुस्तकलाई ध्यान दिनुपर्ने हुन्छ ।’
उनी थप्छन्, ‘हुन त शिक्षालाई डिग्रीमा नाप्न सकिँदैन, त्यसैले विद्यालयमा व्यवहारिकभन्दा औपचारिक शिक्षामा ध्यान दिनुपर्छ भन्ने मेरो बुझाइ हो ।’ उनले भने, ‘अहिले आआफ्नै बाध्यता र परिस्थिति छ, कतिपय बालबालिका आफ्नो अभिभावकभन्दा टाढा बस्नुपर्ने बाध्यता छ, यसैले होला आमाबाबा आफ्नो सन्तानका लागि आइडल बन्न नसकेका हुन् कि भने जस्तो धेरैले सोच्न थालेका छन् ।’
जैशीले भने, ‘केही बालबालिकाका अभिभावक वैदेशिक रोजगारीमा छन्, नेपालमै भए पनि जागिरले गर्दा छोराछोरीलाई समय दिन पाउँदैनन्, एकदिन बिदा भए पनि आफ्नै कामको लागि घरबाट निस्कन्छन् ।’

उनले भने, ‘विविध कारणले बालबालिकाको रुचि अनुसार समय दिन नपाउँदा अहिलेका अभिभावक सन्तानका लागि आइडल बन्न सकिरहेका छैनन् ।’
हरेक बालबालिकाका लागि आमाबाबा, शिक्षा, व्यवस्थापक, साथी सबै हुन्, समय व्यवस्थापन गरेर उनीहरुकै रुचि अनुसार अगाडि बढ्न सक्नुपर्ने उनले बताए ।
पोखराको पुरानो विद्यालय हिलप्वाइन्ट माध्यमिक विद्यालयका संस्थापक प्राचार्यसमेत रहेका जैशी भन्छन्, ‘बालबालिकालाई डर, त्रास देखाएर पढाउन सकिँदैन, उनीहरुको रुचि र मनोभावलाई भित्री तहबाट अध्ययन गर्न सक्नुपर्छ, असल नागरिक बनाउने बालबालिकाको मनोभावना बुझ्नुपर्छ, वातावरण त्यस्तै निर्माण गर्नुपर्छ ।’
उनी भन्छन्, ‘बालबालिका आफैँमा सिँगो विश्वविद्यालय हुन्, फरक यत्ति हो, उनीहरुको रुचि र चाहनाका माध्यमबाट शिक्षण प्रणालीलाई परिर्वतन गर्न ढिलाई भयो ।’
शिक्षक, अभिभावकको भन्दा बालबालिकाको रुचिलाई ध्यानमा राखेर त्यसैलाई मलजल गर्न र पठनमा भोक जगाइदिनुपर्नेमा उनको जोड छ । ‘अहिलेका प्रायः अभिभावकको गुनासो हुन्छ, बाध्यताले सन्तानलाई समय दिन सकिएन’, जैशी भन्छन्, ‘मुटुको टुक्रा सन्तानलाई समय व्यवस्थापन गर्न सक्नु चुनौतीपूर्ण रहे पनि असम्भव भने हुँदैन ।’
सन्तानलाई समय दिन सकिए धेरैजस्तो समस्या घरभित्रै समाधान हुने उनले बताए । ‘जस्तै ठूला र व्यस्त हुने व्यक्तिको लागि भए पनि समय हुने २४ घण्टा नै हो, हामीले अहिले छोराछोरीका लागि समय व्यवस्थापन गर्न सकनौँ, यो दुःखद् कुरा हो’, उनी भन्छन् । कार्यक्रममा पत्रकार रेशम गिरीले सहजीकरण गरेका थिए ।
लेखक हसिना बस्नेतका तर्कः
पहिले अभिभावकले आ-आफ्नो सन्तानलाई समय दिन्थे । बाबाले नभए पनि आमाले बालबालिकालाई पुरै समय व्यतित गर्थिन् । तर समयको परिर्वतन र आत्मनिर्भर हुनुपर्छ भन्ने सोच वृद्धि हुँदै गर्दा महिलाले घर बाहिर गएर काम गर्न थालेका छन् । घरबाट काममा जाँदा बालबालिका सुतिरहेका हुन्छन्, घर आउँदा सुतिसकेका हुन्छन् । घरमा कोही मान्छे आएमा बालबालिकालाई छुट्टै राख्ने नेपालको संस्कार छ । कहीं कतै गए पनि लिएर जाँदैनन्, त्यसैले बालबालिका एकलकाटे हुँदै जान्छन् । सकेसम्म उनीहरुलाई बाहिर जाँदा सँगै लिएर जाने गरौँ, घरमा आएका आफन्तको कुरा सुन्न दिऔँ । उनीहरुलाई खुल्न दिनुपर्छ ।
पुराना संस्कार, संस्कृति, चालचलन अहिलेका बालबालिकाले भुल्दै गइरहेको अवस्थामा उनीहरुलाई सिकाउनु आवश्यक छ । घरबाट मात्रै नसिक्ने भएकाले बालबालिकाको भावना र रुचिलाई उजागर गरेर अघि बढ्नुपर्छ । घरमा हुने झै-झगडा, कलहबाट बालबालिकालाई टाढै राख्नुपर्छ । सबैको दृष्टिकोण, चाहना, रुचि फरक हुन्छ । आमाबाबाको झगडा बालबालिकालाई नदेखाउँ ।
बालबालिकालाई घरमा सिकाउने प्रक्रिया धेरै छन्, आमाको भूमिकाका विषयमा त बयान गर्ने शब्दै छैन । पहिले परिवारका सदस्य, समाजबाट बालबालिकाले धेरै जानकारी पाउँथे, अहिले परिवर्तित समयमा मोबाइलबाट उनीहरुले सिकिरहेका हुन्छन् । अहिले कुनै घर एउटा घरका रुपमा मात्रै सीमित रहेन, मोबाइल भएको छ ।
उनीहरुले प्रविधिको माध्यमबाट विश्व बुझ्ने मौका पाए । ६ वर्षसम्म घरमा आमाबाबा, परिवारका अन्य सदस्यबाट सिक्ने उनीहरुले उमेर बढ्दै गएपछि सिक्ने दायरा बढ्दै जान्छ । टीनएजमा पुगिसकेपछि आमाबाबाले भनेको हो कि होइन जस्तो गर्छन् । वर्षौंदेखि गर्दै आइरहेको कुरालाई हो कि होइन जस्तै गर्छन् । आमाबाबाको कुरा नमानेका हुन् कि जस्तो लाग्छ । उनीहरु के कुरामा खुसी हुन सक्छन् भन्ने कुरामा ध्यान दिँदै रुचि अनुसार काम गर्नु आवश्यक छ ।

आमा र शिक्षक हुनुमा हसिनालाई भावनात्मक आधारमा आमा हुनु कठिन लाग्छ, तर दायित्व भने दुवै तर्फ एकै हुन् । प्रकृति अनुसार आमा बनिसकेपछि सन्तानको मामिलामा भावुक बनिन्छ । विद्यार्थीलाई बालमैत्री वातावरणमा, उनीहरुको भावना बुझेर शिक्षण गराउनुपर्छ । भूमिका उत्तिकै हो, तर आमा भएको नाताले सन्तानसँग भावनात्मक रुपमा नजिक भइन्छ । विद्यालयमा हुने परीक्षामा आउने अंकका आधारमा शिक्षामा तौलन हुँदैन ।
कहिलेकाहीं बालबालिकालाई केही कम अंक आए पनि फेरी पछि राम्रो गरौला, अहिले ठीकै छ भन्ने सिकाउनुपर्छ । बालबालिकालाई अन्यसँग तुलना गरिदिँदा भावनात्मक रुपमा असर पर्छ । कतिपय अभिभावक यस्ता छन्, जसले आफ्नो छोराछोरीले कम नम्बर ल्याएको छ भने शिक्षकसँगै रिसाउँछन् । बालबालिकालाई आफूले अहिले राम्रा अंक ल्याउन नसके पनि पछि राम्रो गर्न सकिन्छ भन्दै हौसला दिनु आवश्यक छ । (लिट्रेचर फेस्टिभलमा बस्नेतकाे भनाइकाे सम्पादित अंश)






