पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु कमजोरी रहेको बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिभलमा ‘भइरहेको निराशाः व्याख्या र वास्तविकता’ महामन्त्री थापाले यस्तो बताएका हुन् । थापाले सरकारमा ‘सेन्स अफ अर्जेन्सी’ नभएको समेत बताए ।
‘निराशालाई चिर्नका लागि एक्सन र रिजल्टबाट हुनुपर्ने कुराहरुमा मजाले मस्ती छ मसँग संख्या छ दुईतिहाई छ भनेको जस्तो जुन चाँही ढुक्क देखिन्छ, सेन्स अफ अर्जेन्सी देखिँदैन,’ थापाले भने ।
आफूले प्रश्न गरिरहँदा सरकारको कमिकमजोरीबाट आफू पनि भाग्न नमिल्ने उनको भनाइ थियो ।‘त्यो नदेख्दै गर्दा मेरो पनि प्रश्न नै प्रश्न छ तर यसको अर्थ मैले यहाँ प्रश्न गरे यो गरे भन्ने होइन म सरकार सञ्चालन गर्ने जिम्मेवार ठाउँमा भएकाले मेरो संलग्नता भए पनि नभए पनि यसभित्र भएका कमिकमजोरीबाट म भाग्न हुँदैन, भाग्दिनँ, यसको सबै दोष पनि मैले यहाँबाट भोगेर जानुपर्छ,’ उनले भने ।
दर्शकदीर्घाबाट साहित्यका छवि सुबेदीले प्रश्न गरे, ‘नेपाली जनता किन विदेशिन थाले ? नेपाली विद्यार्थी जगतले देश किन छोड्यो ? यसको चिन्ता खै माननीय गगन थापाज्यू, तपाईँ युवा भनेर देशका जनताले आशा गरेका हुन् ?’
अर्का दर्शकले गगनलाई प्रदेशप्रति निराशा भइरहेको प्रश्न गरेका थिए । ‘दलले बहुमत ल्याउनु सक्दैन भन्ने कुरामा सुधार गर्नुपर्छ, अर्को कुरा प्रदेशमा अधिकार आउनुपथ्र्यो, प्रदेश बलियो हुनुपथ्र्यो यति दुःख गरेर ल्याएको व्यवस्थामा यो प्रदेश माथि यति धेरै आक्रमण भइरहेछ, केन्द्रको अधिकार प्रदेशमा ल्याउन कुरा मतलब नै गरे छैन प्रदेशप्रति निराशा भइरहेको छ,’ उनले जिज्ञाशा राखे ।
जवाफमा महामन्त्री थापाले प्रदेशलाई स्केप गोट बनाउन खोजेको बताए । ‘हामीले संघले प्रदेशलाई दिनुपर्ने अधिकार केही पनि नदिइकन संघीयताको सही अभ्यास नगरिकन फेरि एउटा स्केप गोट प्रदेशलाई बनाउन खोजिरहेका छौँ,’ उनले भने ।
सोही छलफलमा टिच फर नेपाल फेलोसिपकी सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत स्वास्तिका श्रेष्ठले भनिन्, ‘चुनौती छैन भन्ने खोजेको पनि होइन फेरि आशा भनेको एकदमै अन्धो आशा भन्न खोजेको पनि होइन समुदायमा आशा पनि छ निराशा पनि छ, आशालाग्दा कुरा पनि छ अप्ठ्यारो पनि छन्, तर हाम्रो प्राथमिकता के हुन्छ भने यो कसको जिम्मेवारी हो ।’
राजनीतिशास्त्रमा विद्यावारिधि गरेका सोसल साइन्स बहाःका सह-निर्देशक जीवन बानियाँले नेपालमा मात्र निराशा रहेको देश नभएको सुनाए । तर, निराशाको विन्दु र तत्वहरु मुख्य रहेको उनको भनाइ थियो ।
‘नेपालमात्र त्यस्तो देश होइन जहाँ निराशा छ । त्यही कुरा हो कि अलिकति निराशाको रेट कति छ ? कारक तत्वहरु के हो ? भन्ने कुरामा चाहिँ फरक हुनसक्छ । नेपालको सन्दर्भमा प्रमुख कारणहरु देखिन्छ । पहिलो कुरा भनेको रोजगारी, दोस्रो हाम्रो राजीनित यीनलाई विभिन्न अध्ययनले पनि त्यही नै देखाइरहेको छ,’ उनले भने ।
अस्थिर राजनीति र शासन व्यवस्थाले पनि समाजमा सोही खाल्को प्रभाव पर्ने उनले विचार राखे । यस्तै नेपालले कुनै पनि क्षेत्रमा राम्रो काम गर्न सकिरहेको विचार गलत रहेको उनले सुनाए । विभिन्न क्षेत्रमा गरिरहेको काम आशा लाग्दो रहेको उनको भनाइ थियो ।
‘केही नभएको भने होइन, अहिले स्वास्थ्य सेवामा, धेरै राम्रो गरेको छ, आइटी, हाइड्रोमा राम्रो काम गरिरहेका छौँ,’ उनले भने ।






