पोखरा । पोखराको अमरसिंह चौरमा आज हुने भनिएको दोस्रो संस्करणको ‘एलजी फेस्टिभल-२०२५’ स्थगित भएको छ । पोखरा महानगरपालिका वडा नं १३ ले एक सूचना प्रकाशित गरी प्रतिकुल मौसमका कारण फेस्टिभल स्थगित भएको जनाएको छ । फेस्टिभल शनिबार हुने बताइएको छ ।
सूचनामा भनिएको छ, ‘एलजी फेस्टका दर्शक तथा शुभेच्छुकजन, अत्यधिक वर्षाका कारण सिर्जना भएको अप्रत्याशित मौसमीय परिस्थितिलाई मध्यनजर गर्दै आयोजक समितिले एलजी फेस्टलाई भोलि (शनिबार) का लागि सार्ने निर्णय गरेको छ, तपाईंहरूको समय, समर्थन र उत्साहको उच्च सम्मान गर्छौं, सुरक्षित, सहज र रमाइलो वातावरणमा कार्यक्रम सञ्चालन गर्नु हाम्रो पहिलो प्राथमिकता भएकाले, असहज मौसमको कारण तत्काल कार्यक्रम अघि बढाउन सम्भव नभएको जानकारी गराउन चाहन्छौँ ।’
सूचनामा भनिएको छ, ‘यस कारणले पर्न गएको असुविधाप्रति एलजी एसोसिएशन हार्दिक क्षमायाचन गर्दछ । तर हामी विश्वास दिलाउन चाहन्छौँ कि भोलि, निर्धारित समय र स्थानमै, अझ उत्साहजनक माहोलमा तपाईंहरूसँग पुनः भेट हुनेछ ।’
यो फेस्टिभलको पहिलो संस्करण हङकङ, अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया, कतारलगायत विभिन्न देशहरूमा सफलतापूर्वक सम्पन्न भइसकेको छ ।
अन्तर्राष्ट्रियस्तरमा शानदार सफलता पाएपछि अब यो फेस्ट पोखरावासीका लागि भव्यरूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा नेपालका चर्चित कलाकारको प्रस्तुति रहने छ ।
आयोजकका अनुसार आज एलजी फेष्टमा जोह्न एण्ड दि लोवलस, पूर्ण राई एण्ड दाजुभाइ, एमटी ८८४८ व्याण्ड घन्किनेछन् ।
अन्तर्राष्ट्रिय सफलतापछि नेपालमा पहिलो पटक आयोजना हुन लागेको म्युजिक फेस्टिभलमा लाइभ म्युजिक, स्वादिष्ट खानाका परिकार, विशेष पेय पदार्थ र मनोरञ्जनका कार्यक्रम हुनेछन् ।






