सिन्धुली । सिन्धुलीमा शनिबार साँझ चट्याङ लागेर तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
जिल्लाको हरिहरपुरगढी गाउँपालिक वडा नं १ बसेरीमा चट्याङ लागेर तीन जना घाइते भएका हुन् ।
घाइते हुनेमा स्थानीय ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फूलमाया रुम्बा छन् । घाइतेमध्ये सुकुमायाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
घाइते महन्त र फूलमायाको स्थानीय मेडिकल गुर्जीमा उपचार भइरहेको र सुकुमायालाई थप उपचारका लागि हेटौँडा पठाइएको काफ्लेले जानकारी दिए ।
जिल्लामा अचानक हावाहुरी, बर्सातसहित चट्याङ परेको थियो । जिल्लाका विभिन्न स्थानमा हावाहुरीबाट भएको क्षतिको विवरण भने प्राप्त नभएको उनले बताए ।





