पोखरा । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको ल्हासामा नियमित व्यवसायिक उडान गर्ने भएको छ । एयरलाइन्सले काठमाडौं-ल्हासा-पोखरा-ल्हासा-काठमाडौं व्यवसायिक उडान गर्न लागेको एयसलाइन्सद्वारा जारी सूचनामा भनिएको छ ।
आगामी चैत १८ अर्थात मार्च ३१ देखि पोखराबाट उडान शुरू गर्ने र सातामा एउटा उडान गर्ने एयरलाइन्सले जनाएको छ ।
विसं २०७९ पुस १७ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म नियमित व्यवसायिक उडान हुन सकेको छैन । हिमालयले व्यवसायिक उडान थालेसँगै यो नै पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा बन्नेछ ।
नेपाल र चीनबीचको हवाई सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यका साथ यो गन्तव्यमा व्यवसायिक उडान गर्न लागेको एयरलाइन्सले जनाएको छ ।
अहिलेसम्मको योजना अनुसार एयरलाइन्सले चैत्र १८ गते बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं-ल्हासा उडान गर्नेछ ।
चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासाको गोंगर विमानस्थलमा अवतरण हुनेछ । सोही जहाज स्थानीय समयअनुसार १२ः४५ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।
नयाँ गन्तव्यलाई लिएर निकै खुसी रहेको कम्पनीका उपाध्यक्ष उपाध्यक्ष विजय श्रेष्ठले बताए ।
‘हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो,’ उपाध्यक्ष श्रेष्ठले भने । हिमालयले चीनमा नयाँ गन्तव्य खोज्दै र नियमित उडान गर्दै आइरहेको जनाएको छ ।
सूचनामा भनिएको छ, ‘काठमाडौँ-ल्हासा-पोखरा-ल्हासा-काठमाडौँ शुरु गरिएको यस उडानले हाम्रो एअरलाइन्सकाे दुई राष्ट्रका नागरिक-नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्दछ, यो नयाँ रुटको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुका लागि अविस्मरणीय यात्रा अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।’
सिचुवान एयरलाइन्स पनि तयार
यता, चीनको सिचुवान एयरलाइन्सले पोखरा-छेन्दु व्यावसायिक उडान गर्ने भएको छ । सिचुवानले आगामी चैत ५ गते पोखराबाट छेन्दु उठान शुरु गर्ने भएको हो । पोखरा-छेन्दु सातामा एक उडान गर्ने तयारी भएको एयरलायन्सले जनाएको छ ।
सिचुवानले एक महिना अघि पोखरा-काठमाडौँ उडान भरेको थियो । डिसेम्बर ११ मा एयरलाइन्सले एक सय २६ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उडेको थियो । योसँग अब नियमित व्यावसायिक उडान गर्ने तयारी गरेको एयरलायन्सले जनाएको छ ।

सिचुआन एयरलाइन्सको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्सी (जीएसए) सोसाइटी इन्टरनेशनलले अहिले हप्तामा एक उडानबाट शुरु गर्ने तयारी गरेको जनाएको छ ।
छेन्दुबाट अस्ट्रेलियालगायत विभिन्न गन्तव्यमा सिधा उडान सञ्चालन गर्ने तयारी छ । सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलबाट बेलाबेलामा चार्टर उडान गर्दै आएको छ ।
पोखरा विमानस्थलबाट पूर्ण क्षमतामा न्यारोबडी विमान उडेको यो पहिलो पटक हो । अहिले पोखराका पर्यटन व्यवसायी र छेन्दुका पर्यटन व्यवसायी पहिलो उडानका लागि लागेका छन् । पोखरामा पोखरा पर्यटन परिषद्ले चैत ५ गते पोखराबाट छेन्दु जाने पर्यटकका लागि प्याकेजसमेत बताएको छ ।






