पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले कास्कीमा लागुऔषध दुर्व्यसनी न्यूनीकरण हुन थाले पनि सवारी दुर्घटना अत्यधिक बढ्न थालेको बताएका छन् । सवारी दुर्घटनामा पनि दुई पांग्रेको संख्या अध्यधिक रहेको उनले बताए ।
पोखरा महानगरपालिका वडा नं ८ द्वारा आयोजित नवजडित सीसी क्यामेरा शुभारम्भ तथा हस्तान्तरण कार्यक्रममा एसपी ओलियाले दुर्घटना न्यूनीकरणमा सरोकारवालाको ध्यान आकृष्ट हुन आवश्यक रहेको बताए । उनले भने, ‘सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक र नेपाल प्रहरीले मात्र चाहेर हुँदैन, यसमा सबैको ध्यान जान आवश्यक छ ।’
पर्यटकीय नगरीमा सीसी क्यामेराको अभाव खड्किएको अवस्थामा पोखरा-८ ले राम्रो काम गरेको भन्दै उनल् प्रशंसा गरे । महानगरका ३३ वटै वडामा त्यो पनि सबै टोलमा सीसी क्यामेरा जोडिनुपर्ने आवश्यकता उनले औँल्याए ।
उनले भने, ‘मैले कास्की प्रहरीको कमाण्ड सम्हाल्दै गर्दा सीसी क्यामेरालाई पहिलो प्राथमिकतामा राखेको थिएँ, अहिले वडा कार्यालयले सीसी क्यामेरा जोडिदिएर नागरिकको सुरक्षाका साथै नेपाल प्रहरीलाई महत्वपूर्ण सहयोग पुगेको छ ।’
अब प्रहरी जनशक्तिको माग अत्यधिक माग बढेको भन्दै एसपी ओलियाले अब जनशक्ति होइन प्रविधि बढाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘प्रविधिले धेरै कुरा सजिलो हुन्छ, प्रहरीलाई अनुसन्धानमा पनि तत्कालको तत्कालै र यथार्थपरक ढंगले सघाउँछ, सवारी दुर्घटना र आपराधिक गतिविधिमाथि नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका खेल्छ ।’
पोखराको शिशुवा, जौवारी र छोरेपाटनमा डिजिटल चेकपोष्ट राख्नुपर्ने आवश्यकता भएकाले यसका लागि प्रयास भइरहेको उनको भनाइ छ । अब जडान हुने सीसी क्यामेरा उच्च गुणस्तरीय हुन आवश्यक रहेको उनले बताए ।

पोखरा-८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडाका ८० प्रतिशत क्षेत्रमा सीसी क्यामेरा जोडिएको भन्दै आगामी वर्षमा सबै क्षेत्रमा जोड्ने प्रतिवद्धता जनाए । यसअघि टोलटोलमा राखिएका सीसी क्यामेरा निररानी अब प्रहरीले नै गर्ने उनले बताए ।
अब हरेक काम टोल विकास संस्था, विभिन्न संघसंस्था र महिला समूहसँग सहकार्य गरेर गर्नुपर्नेमा वडाध्यक्ष बरालले जोड दिए । उनले भने, ‘टोल विकास संस्थाको कोषमा रहेका रकम अब टोलकै विकास र सुरक्षामा खर्च गर्नुपर्छ ।’
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौलाले केही दिनमा सीसी क्यामेरा हेरेरै छ वटा घटना पत्ता लगाइएको जानकारी दिए ।
उनले सीसी क्यामेरा जडानमात्र ठूलो कुरा नभएको भन्दै यसको मर्मत सम्भारमा पनि ध्यान दिन आवश्यक रहेको बताए । उनले पोखराका सबै चोकमा सीसी क्यामेरा जोड्न आवश्यक रहेको बताए ।
पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले पोखराको मुटु सिर्जनाचोक रहेको र मुटुमा रहेको वडाले सीसी क्यामेरा जोड्न सफल भएकोमा खुशी लागेको बताए ।
कार्यक्रममा नागरिक समाज पोखराका अध्यक्ष विष्णुप्रसाद बराल, वडासदस्य गोविन्द बराल, वडासचिव झम्कनाथ पौडेललगायतले बोलेका थिए ।
पोखरा ८ मा हाल २२ वटा जोडिएसँगै सीसी क्यामेराको संख्या २६ पुगेको छ । जाल्पारोडदेखि सिर्जनाचोकसम्म १६ र शिवालयचोक वरपर ६ वटा क्यामेरा जोडिएको हो ।
सबै क्यामेरा पाँच मेघाफिक्सलको रहेको बताइन्छ । यो क्यामेराले अँध्यारोमा पनि आफै प्रकाश फ्याँकेर खिच्न सक्ने दावी गरिएको छ । एउटा क्यामेराले ५० मिटरको दुरीसम्मको दृश्य कैद गर्न सक्ने कम्पनीको दावी छ ।






