पोखरा । पोखरा महानगरपालिका दोस्रो अन्तर क्लब पुरुष टी-२० क्रिकेट प्रतियोतिगामा कास्की क्रिकेट क्लबले दोस्रो जित दर्ता गरेको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिताअन्र्तगत बिहीबार भएको खेलमा कास्कीले गण्डकी क्रिकेट क्लबलाई २६ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय रन बनाएको थियो । कास्कीका लागि विश्वास पराजुलीले ६७ रन र आदित्य थापाले २७ रनको योगदान दिए ।
विशाल लक्ष्य पछ्याएको गण्डकी निर्धारित २० ओभर सकिँदा तीन विकेट गुमाएर जम्मा एक सय ७९ रनमा समेटियो ।
उत्कृष्ट शुरुवात गरेको गण्डकीका लागि ओपनिङ पार्टनर सुरज अधिकारी र भुवन भट्टराईले एक सय ३८ रनको विशाल साँझेदारी गरे पनि हार टार्न सकेन् । सुरजले ६२ रन र भुवन भट्टराईले ५६ रन बनाए । बिहीबारको खेलमा विश्वास पराजुली प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो खेलमा लेखनाथ युथ क्रिकेट क्लब र पोखरा क्रिकेट क्लब तथा दोस्रो खेलमा गण्डकी स्पोर्टस् क्लब र अरण्यज्योति क्रिकेट क्लबबी प्रतिस्पर्धा हुनेछ ।






