पोखरा । धर्मगुरु विजय भण्डारी (कृष्णमूर्ती) ले कसैलाई असर नपर्ने गरी आफूहरुले काम गर्न खोज्दा पोखरा महानगरपालिकाले अनावश्यक बखेडा झिकेर दुःख दिएको बताएका छन् ।
आगामी बैशाख १७ देखि हुने कोटीहोमका लागि आज बिहान भूमिपूजा गर्ने क्रममा पोखरा महानगरको नगर प्रहरीसँग झडप भएपछि भण्डारीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
भूमिपूजाको साहित नेपाल पञ्चांग निर्णायक समितिले नै निकालिदिएको थियो ।
भण्डारीले भने, ‘हामीले नेपाल ट्रस्टको कम्पाउण्डभित्र कसैलाई केही समस्या नहुने गरी भगवान र समाजको कर्म गर्न खोज्दा आज यो अवस्था बनाइयो, नगर पिता जस्तो व्यक्तित्वबाट यस्तो कार्य गर्न सुहाउँदैन, यसले दीर्घकालीन असर पुर्याउने निश्चित छ ।’
महानगरले नियोजित, प्रायोजित रुपमा षड्यन्त्रपूर्वक झडप गराएको भन्दै उनले झडपका क्रममा पूजा सामग्री र सिक्री लुटिएको आरोपसमेत लगाए ।
अब कुनै पनि हालतमा कोटीहोम रोक्न नहुने उनको जिकिर छ । उनले कोटीहोम नगरी कुनै पनि हालतमा नफर्किने बताउँदै आएका छन् ।
महानगरपालिका बाहेक सबै पक्ष कोटीहोमको पक्षमा रहेको उनको दावी छ । महानरले अदालतको अवहेलनासमेत गरेकाले आफूहू पुनः अदालत जाने समेत चेतावनी दिए ।
उच्च अदालतको दुईवटा फैसलाले कोटीहोम सञ्चालनमा कुनै पनि अवरोध नगर्न आदेश दिएको छ ।

यता, पोखरा महानगरपालिकाले आफूहरुको आग्रह नमान्दा घटना भएको प्रतिक्रिया दिएको छ । प्रवक्ता मोती तिमिल्सिना भन्छन्, ‘वडाले दिएको भनेको स्वीकृति महानगर खारेज गरिसकेको, महानगरको कार्यपालिका बैठकले नै कोटीहोम गर्न नदिने निर्णय गरिसकेको र महानगरले स्वीकृति पनि नदिएको आवस्थाका साथै लेकसाइडमा कोटीहोम नगर्न पटकपटक आग्रह गर्दा नमान्दा आजको स्थिति आएको हो ।’
कोटीहोम लेकसाइडबाहेक अन्यत्र जहाँ गरे पनि महानगर सघाउन तयार रहेको प्रवक्ता तिमिल्सिनाको भनाइ छ ।
मानव सेवा फाउण्डेशनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत काम गरेको उनको तर्क छ ।
उनले भने, ‘नियमविपरीत जाने छुट कसैलाई छैन, सबै धर्म र संस्कृतिप्रति महानगरपालिकाको समान व्यवहार छ, धर्म, सस्कार र संस्कृति संरक्षणमा सहयोग गर्छ ।’






