पोखरा । पोखरा महानगरपालिका वडा नं ९ न्यूरोड दरबारमार्गस्थित उपहार फर्निचरमा आज बिहान आगालागी भएको छ ।
क्षतिको पूर्ण विवरण प्राप्त नभए पनि सो आगलागीबाट करिब एक करोड बढीको फर्निचर सामग्री जलेर नष्ट भएको छ ।
फर्निचरमा काठका मुढा, काठ तथा प्लाइउड जलेका छन् । आज बिहान करिब ४ः३० बजे आगलागी शुरु भएको थियो । करिब तीन घण्टामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बिहानको समय, वरिपरी टिनका टहरा, साँघुरो सडकका कारण दमकल छिर्न गाह्रो हुँदा आगो नियन्त्रणमा ढिलाई भएको थियो ।
आगो नियन्त्रणमा सशस्त्र प्रहरी वल नंं. २४ गण कालिका गण सप्रनानि सुनत घर्ती मगरको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली, वडा प्रहरी कार्यालय बैदामबाट नायब उपरीक्षक सन्तोष निरौलाको कमाण्डमा ५० जनाको टोलीका साथै स्थानीयवासी खटिएका थिए ।
सोक्रममा पोखरा महानगरपालिकाको दमकल, विभिन्न खानेपानीका ट्यांकर प्रयोग गरिएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।






