पोखरा । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक तनहुँ व्यास नगरपालिका वडा नं ५ का डा. रघुराज काफ्ले नियुक्त भएका छन् । सरकारले सिफारिस समितिको सुझावका आधारमा विकास अर्थशास्त्री डा. काफ्लेलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
डा. काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको पूर्व उपाध्यक्ष पनि हुन् । मन्त्री पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा पनि डा. काफ्ले सदस्य थिए ।
उनले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा काम गरेका थिए ।
विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आएका उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् । डा काफ्लेले लामो समय प्राध्यापन गरेका थिए ।
उनीसँग वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ । बोर्डमा रहँदा डा काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम शुरु गरेका थिए ।
राहत रकममा चार सय प्रतिशत वृद्धि तथा बीमामा शतप्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बीमा कार्यक्रम उनले आरम्भ गरेका थिए ।
कार्यदलले स्वास्थ्य बीमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो ।
सिफारिस समितिले आवेदन स्वीकृत गरेका १० उम्मेद्वारमध्ये फागुन १८ र १९ गतेको प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात अन्तिम सूचीमा डा काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।






