पोखरा । दोस्रो नेकोस कप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक सूर्यतारा क्लब र गन्नी फुटबल क्लब भिड्ने भएका छन् ।
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमार्फत गन्नी फुटबल क्लब फाइनलमा पुगेको हो । गन्नीले डिफेन्डिङ च्याम्पियन एलसी ब्रदर्श युनाइटेडलाई १-० गोलअन्तरले पराजित गरेको हो ।
बिहीबार भएको सेमिफाइनल खेलको २९औँ मिनेटमा गन्नी फुटबल क्लबका विदेशी खेलाडी रिचार्ड अफेथाले गरेको गोल नै निर्णायक बन्न पुगेको थियो । उनी म्यान अफ दी म्याचसमेत बन्न सफल भए ।
फाइनल खेल शनिबार हुने महोत्सव संयोजक विष्णु पुनले जानकारी दिए । आयोजकले सूर्यताराले विष्णुपादुका क्लब हेम्जालाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
प्रतियोगिता विजेताले चार लाख चार हजार चार सय ४४, उपविजेताले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ ।
वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले जनाए । फुटबल प्रतियोगितामा १० टिमको सहभागिता थियो ।
खेल महोत्सवमा फुटबलका साथै खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगितासमेत समावेश रहेको नेपाल खेलकुद महासङ्घ कास्कीका अध्यक्ष ईश्वर अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार शुक्रबार बिहान ११ बजेबाट सय मिटर खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता र राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता सञ्चालन हुनेछ ।






