पोखरा । पोखरामा कोटीहोम गर्ने स्थल परिवर्तनको विषयमा चर्चा भइरहँदा पोखरा-६ युवा परिषद्ले यस विषयमा छलफल गर्ने भएको छ ।
यस विषयमा परिषद्ले शनिबार बिहान ११ बजे आमा समूह, टोल विकास संस्था र पर्यटन व्यवसायीसँग छलफल गर्न लागिएको अध्यक्ष डिफन भुजेलले जानकारी दिए । कार्यक्रम नेपाल ट्रसकै मैदान बाराहीघाटमा हुनेछ ।
उनका अनुुसार छलफलबाट सबैको धारणा बुझेपछि सोही बमोजिम कदम चालिनेछ ।
परिषद्ले कोटीहोमका लागि उपयुक्त स्थान बाराहीघाट नै भएको स्पष्ट पारेको छ । परिषद्ले केही दिन अघि विज्ञप्ति प्रकाशित गरी कोटीहोम धार्मिक आस्थालाई कसैको स्वार्थ अनुसार गर्न नहुने जनाएको छ ।
मानव सेवा फाउण्डेशन जसरी पनि बाराही घाटमै कोटीहोम गर्ने र पोखरा महानगर गर्नै नदिने अडानले तनाव जारी छ ।
केही दिन अघि कोटीहोमका लागि भूमिपूजा गर्नेक्रममा आयोजक र नगर प्रहरीबीच झडपसमेत भएको थियो ।
त्यसपछि वार्तासमिति गठन गरी कोटीहोमबारे निर्णय भएको छ । वार्ता समितिमा महानगरबाट दुई, कोटीहोम आयोजकबाट दुई र जिल्ला प्रशासनबाट एक जना प्रतिनिधि रहने र विवाद समाधान गर्ने सहमति भएको थियो ।
त्यसपछि बसेको पोखरा महानगरको कार्यपालिका बैठकले बाराहीघाट र बेगनासताल आसपासका क्षेत्रमा कोटी गर्न नदिने निर्णय गरेको छ । महानगरले वडाध्यक्ष दिवसमान प्रधानांग र राधिका शाही योगीलाई वार्ता टोली सदस्य चयन गरेको थियो ।
उच्च अदालत पोखराले समेत कोटी होम सञ्चालनमा कुनै अवरोध नगर्न महानगरपालिकालाई आदेश दिएको छ । अदालतको आदेशलाई महागरले एकपक्षीय निर्णय भन्दै आएको छ ।






