पोखरा । पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन गरिएको छ । क्याम्पस प्रमुख कृष्णबाबु बरालले त्रिभुवन विश्वविद्यालयको सूचना अनुसार चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचन हाललाई स्थगन गरिएको जानकारी दिए ।
निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने गरी केही विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेपछि निर्वाचन सञ्चालन गर्न कठिनाई उत्पन्न भएको थियो ।
निर्वाचन प्रक्रियालाई निर्धारित समयमा अघि बढाउन वार्ता तथा संवादका विभिन्न पहल गरिए पनि अपेक्षित सहमति हुन नसक्दा निर्वाचन स्थगन गर्नुपरेको क्याम्पस प्रशासनले जनाएको छ ।
निर्वाचन प्रक्रिया सहज बनाउन विद्यार्थी संगठन, समुह तथा सरोकारवालासँग खुला संवादका लागि आग्रह गरिएको छ । क्याम्पस प्रशासनले सबै पक्षसँग छलफल गरेर लोकतान्त्रिक अभ्यासको सम्मान गर्दै यथाशीघ्र निर्वाचन सम्पन्न गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
यसैक्रममा क्याम्पस प्रशासनले विद्यार्थी संगठनलाई अवरुद्ध गतिविधि रोक्न र निर्वाचन प्रक्रियालाई सहज बनाउन आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।
वार्ता तथा सम्वादबाट समस्याको समाधान खोज्दै विद्यार्थीको हकहित सुरक्षित गर्ने वातावरण निर्माण गर्न सबैलाई सहकार्य गर्न अनुरोध गरिएको छ ।
क्याम्पस प्रशासनले भनेको छ, ‘निर्वाचन एक लोकतान्त्रिक प्रक्रिया हो, विद्यार्थीको अधिकारलाई सुरक्षित गर्न निष्पक्ष वातावरण आवश्यक छ, तसर्थ, अवरुद्ध अवस्था हटाइ निर्वाचन प्रक्रियालाई सहज बनाउन विद्यार्थी संगठन तथा सम्बन्धित सबै पक्षको सक्रिय सहकार्य जरुरी छ ।’
त्रिवि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका तथा थप निर्देशन २०८१ साथै जनप्रिय बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन नियमावली २०७३ अनुसार निर्वाचन प्रक्रिया अघि बढाउने क्रममा फागुन २६ गते निर्वाचन समितिको कार्यालय र २८ गते क्याम्पस प्रमुख एवं प्रशासन प्रमुखको कार्यालयमा तालाबन्दी गरेपछि परिस्थिति सहज नभएको कारण देखाउँदै निर्वाचन समितिले राजिनामा दिएको थियो ।
जनप्रिय बहुमुखी क्याम्पस प्रशासनले आगामी दिनमा सहमति जुटाई १५ दिनभित्र पुनः निर्वाचन प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । दुई हजार चार सय ३३ विद्यार्थी मतदाता रहेको क्याम्पसमा विसं २०७३ सालमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो ।






