पोखरा । नेपाली नयाँ वर्ष २०८२ का अवसरमा पोखराको फेवाताल किनारमा आयोजित २०औँ फेवा नव वर्ष महोत्सवकाे तयारी तीव्र बनाइएकाे छ । महाेत्सव होटल संघ पोखराले आयोजना गरेकाे हो ।
नेपाली नयाँ वर्ष धूमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव आयोजना गरिएकाे संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
महोत्सव यही चैत ३० देखि आगामी वैशाख १ गतेसम्म पाेखराकाे ड्यामसाइडदेखि खहरेचोकसम्म तीन किमी भन्दा धेरै सडक क्षेत्रमा सञ्चालन हुने अध्यक्ष सुवेदीले जानकारी दिए ।
नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने महोत्सवको प्रमुख उद्देश्य रहेकाे उनले बताए । महाेत्सवमा विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल राखिनेछ ।
नेपालका मुख्य शहरमा अङ्ग्रेजी नयाँ वर्ष धूमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन महोत्सवलाई निरन्तरता दिइएको अध्यक्ष सुवेदीले बताए ।
उनले भने, “पर्यटनको राजधानी घोषणापछि दाेस्राे पटक पोखरामा हुन लागेको यस महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्नेछौँ ।”
महोत्सव आन्तरिक र बाह्य गरी तीन लाख पर्यटकलाई अवलोकन गराउने आयोजकको लक्ष्य छ । महोत्सव तयारीका लागि विभिन्न २१ वटा समिति गठन गरिएकाे छ । महाेत्सव सफल सफल बनाउन हाेटल संघ पाेखराले जाउँ है पाेखरालगायतका अभियान सञ्चालन गरेकाे छ ।
संघका निर्वतमान अध्यक्ष विकल तुलाचनले महाेत्सवकाे अवसरमा होटल संघ पोखरा मातहतका होटलले प्रकाशित गरेको दररेटमा २० प्रतिशतसम्म छुट प्रदान गरिने बताए ।
महोत्सवकाे आकर्षणमा परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झाँकी, लोकदोहोरी, पप कन्सर्ट, स्थानीय कलाकारद्वारा सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रहशन र पर्यटक दौड प्रतियोगितालगायत छन् ।
पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले महोत्सवले नेपाली संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनको साथै आर्थिक उन्नयनमा योगदान पुगेको बताए । अंग्रेजी नयाँ वर्षको सडक महाेत्सव जस्तै फेवा नववर्ष महाेत्सव सफल रहने उनले अपेक्षा गरे ।
हाेटल संघ केन्द्रका सदस्य एवं सल्लाहकार परिसद संयाेजक भरतराज पहारीले पर्यटन क्षेत्रमा सकारात्मक सन्देशकाे आवश्यकता औँल्याए ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महाेत्सवकाे सफलताकाे कामना गरे । संघका महासचिव राजेन्द्र ढकाल महाेत्सवकाे विविध पक्षका बारेमा जानकारी गराएका थिए ।






